हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको शून्य फोहोर अभियानलाई क्याम्पाडाँडामा जथाभावी फालिएको फोहोरले चुनौती दिएको छ । घरबाट निस्किएको फोहोर उचित व्यवस्थापन नगरी सार्वजनिक स्थानमा फाल्ने क्रम बढेपछि हेटौँडा उपमहानगरपालिका–५ र ७ को सीमास्थित क्याम्पाडाँडा क्षेत्र दिनप्रतिदिन प्रदूषित बन्दै गएको छ ।
उक्त क्षेत्रमा सडकको दायाँबायाँ घरायसी फोहोरसँगै खसीका टाउकासमेत फालिएको छ । सार्वजनिक स्थानमा जथाभावी फोहोर फालिँदा दुर्गन्ध फैलिनुका साथै रोगको संक्रमणको जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।
हेटौँडा उपमहानगरपालिका–७ का वडाध्यक्ष दामोदर गौतमले उक्त स्थानमा थुप्रिएको फोहोर उपमहानगरपालिकाको सहयोगमा व्यवस्थापन गरिने बताए ।
उपमहानगरपालिकाले नगरवासीको घरबाटै फोहोर सङ्कलन गर्न ग्रिन एन्ड सिटीमार्फत सेवा सञ्चालन गर्दै आएको छ । घरघरमै फोहोर सङ्कलन गर्ने व्यवस्था हुँदाहुँदै पनि सार्वजनिक स्थानमा फोहोर फाल्ने प्रवृत्ति रोकिएको छैन ।
स्थानीय गुप्तप्रसाद पौडेलले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्दा रोग फैलिन सक्ने जोखिम रहेको बताए ।
कान्तिलोकपथ र मदन भण्डारी मार्गका रूपमा परिचित उक्त सडकमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने गरेका छन् । व्यस्त सडक आसपासमै फोहोर थुप्रिँदा यात्रु, स्थानीयवासी तथा सडक प्रयोगकर्ताको स्वास्थ्यमा समेत असर पर्न सक्ने देखिएको छ ।
सार्वजनिक स्थानमा फोहोर फाल्ने कार्य तत्काल रोक्न र फोहोर फाल्ने व्यक्तिलाई कारबाही गर्न स्थानीयवासीले उपमहानगरपालिकासँग माग गरेका छन् ।


भीमसेन पौडेल 















प्रतिक्रिया दिनुहोस्