बाल्यकालदेखि नै अभिनयमा सक्रिय रहेकी अभिनेत्री नीता ढुंगानाले आफ्नो करिअरमा तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । लिड अभिनेत्रीको रुपमा अभिनय गरेका प्रायः फिल्म बक्सअफिसमा असफल भए पनि अभिनय राम्रो गर्ने भएकाले उनी आजका दिनसम्म कामविहीन भएर घरमा बस्नु परेको छैन । म्यूजिक भिडियोमा पनि उनको उस्तै राम्रो माग छ ।
नीताले आफूलाई अभिनयमा मात्र सीमित राखेकी छैनन् । उनले एक गणेश भजन ‘श्री गणेश’ मा स्वर दिइसकेकी छन् भने अर्को एक भजन गीत ‘जय जय निलकण्ठ’ को म्यूजिक भिडियोलाई उनले निर्देशन गरेकी थिइन् । उनले युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको एक शोको पनि निर्देशन गरेकी छन् । उनले चाँडै वेब सिरिज ‘श्रीमद्भगवत गीता’ को पनि निर्देशन गर्दैछिन् ।
नीताले अब फिल्म निर्देशनमा डेब्यू गर्ने तयारी समेत थालेकी छन् । तर, ‘श्रीमद्भगवत गीता’ वेब सिरिजभन्दा अगाडि वा पछाडि फिल्म गर्ने भन्ने विषयमा छलफल उनले बताएकी छन् । नीता फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको बताइएको छ । ‘श्रीमद्भगवत गीता’ को काममा ढिलाई हुने अवस्था आए फिल्मको काम सुरु गर्ने नीताको तयारी छ ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा हरिहर अधिकारीले आफूलाई नीताको निर्देशनमा फिल्ममा काम गर्ने इच्छा रहेको बताए । नीताले पनि आफूले निर्देशन गर्ने फिल्ममा हरिहर अधिकारी हिरो हुने सम्भावना रहेको बताएकी छन् । पछिल्लो समय फिल्म क्षेत्रमा यो जोडीको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । तर, दुवैले यो कुरामा कुनै सत्यता नभएको दाबी गर्दै आएका छन् ।