हेटौंडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने तयारी गरिएको छ ।

मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरी सूचक पूरा गर्न तयारी तीव्र पारिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिएका छन् ।

सञ्चारकर्मीहरुसँगको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले सूचक पुरा गर्ने सन्दर्भमा आवश्यक छलफल तथा परामर्श गर्न पालिकाभित्रका विद्यालयका प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, पालिकाका सहजकर्ताहरु तथा महिला तथा बालबालिका क्षेत्रमा विज्ञहरुसँग अन्र्तक्रिया गरिएको उल्लेख गरे ।

संघीय मामिला मन्त्रालय अन्तरगतको बालमैत्री स्थानीय तहका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद लामिछाने र शिविन बाल हेल्पलाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले सूचक पुरा गर्नको लागि सरोकारवालाहरुसँग परामर्श गरेका थिए ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत विकासतर्फ १५ वटा सूचक तोकिएका छन् ।

दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, ५ देखि १४ वर्ष उमेरसमूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पुरा गरेको हुनुपर्ने लगायतका बालबालिकाको अधिकारसँग सम्बन्धित बिषयहरु सूचकको रुपमा छन् ।

कैलाश गाउँपालिका देशकै छैठौं र मकवानपुरको चौथो बालमैत्री घोषणा भएको पालिका हुनेछ । यसअघि मकवानपुरको मनहरी, बकैया र मकवानपुरगढी, पाल्पाको रम्भादेवी र दोलखाको कालिन्चोक गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भैसकेका छन् ।