हेटौंडा । कविता वाचनका लागि पलेँटी कसेर रहेका कविहरूबाट कवि चन्द्र गुरुङ घेरिएका थिए । उनले आफुलाई मन परेको पाँच थान कविता वाचन गरे । उनले भर्खरै प्रकाशित कविता कृति जब एउटा मान्छे हराउँछबाट देश प्रेम, बुढो माझीको देश, अचेल हामी भेट हुँदा, बाको अनुहार र झरि रहेछ पानीको मुसलधारे आगो शिर्षकका कविता वाचन गरेका थिए ।

त्यसपछि कविहरू कुवेर पराजुलीले निर्वन्ध खुशी, भवानी तिमल्सिनाले पानी नचल्ने मान्छे, सुनिल गौतमले, किशन पौडेलले सब ठिकठाक हुनै सक्दैन, मनोज पोखरेलले निकै जाडो छ शिर्षकका चन्द्र गुरुङका कविता वाचन गरेका थिए । यस्तै कवि मसान उपासक, निमेष निखिल र सानु खनालले समेत गुरुङका कविताहरू वाचन गरे ।

मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले आयोजना गरेको कवि गुरुङको जब एउटा मान्छे हराउँछ कविता कृति माथि विार्श तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको थियो ।

वैदेशिक रोजगारीका क्रममा लामो समय परदेश रहेका गुरुङलाई पछिल्लो समय देशका विभिन्न स्थानमा कविता सुनाउन भ्याईनभ्याई छ । केही समयअघि सिक्किममा कविता सुनाउनु भएका उनलाई संगमले हेटौंडामा स्वागत गरेको हो ।

कार्यक्रममा साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले गुरुङको व्यक्तिपरिचय दिएका थिए । अन्य सहरको तुलनामा हेटौंडामा गुरुङका सर्वाधिक पुस्तक माग भएको थियो । उनका ‘जब एउटा मान्छे हराउँछ’ कृति नेपाल बाहिर दर्जनौं देशमा माग भएका कविता कृति हो । जसको दोस्रो संस्करण समेत प्रकाशन भईसकेको छ ।

३२७ औं नियमित साहित्य सन्ध्याको अवसरमा आयोजित विमर्श कार्यक्रममा स्वर्गीय सर्जक खेम बानियाँको स्मृति दिवस पनि मनाइएको थियो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले बानियाँ मकवानपुरमा पहिलो गजल लेखक मात्र नभई जिल्लामै सूत्र कथा भित्र्याउने सर्जकका रूपमा रहेको बताए । साथै निखिलले गुरुङ आफू जति भद्र र नम्र हुनुहुन्छ कविता पनि त्यस्तै कोमल संवेदनायुक्त कविता लेख्ने बताए ।

कलाकार उज्ज्वल शर्मा चौलागाईँले स्वर्गीय बानियाँसँग बिताएका पलहरू निकै स्मरणीय रहेका र सबैले बिर्सिसकेका अवस्थामा संगमले सम्झिरहेकोमा आफू निकै खुशी रहेको उल्लेख गरे ।

कार्यक्रम संगमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता र अग्रज साहित्यकार तथा दाना कविताका सूत्रपात तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

संगमका सचिव डिबी बर्तौलाले सहजीकरण गरेको कार्यक्रममा गजल मञ्चका अध्यक्ष केशप समर्पण, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, झरना साहित्यिक परिवारका उपाध्यक्ष चिरञ्जीवी लामिछाने, आँचल साहित्य कला पुञ्जकी सदस्य ज्योत्सना श्रेष्ठ, नेपाली लेखक संघका संप्रश पौडेललगायतको उपस्थिति रहेको थियो ।