हेटौंडा । आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको छ ।

घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा सुरु गरिएको हो । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँपालिकाले सोमबार ४ नम्बर वडाबाट एकीकृत घुम्ती सेवाको सुरुवात गरिएको हो । ४ नम्बर वडा कार्यालयमा पुगी सोमबार एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरण गरिएको थियो । साथै सोही स्थानबाट स्थानीयलाई तरकारीका बिउ वितरणका साथै पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको टोलीले गाउँघरमै ल रुपमा पुगी घुम्ती शिविरमार्फत सरसेवा प्रदान गरेका हुन् । ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र निशुल्क औषधिकोसमेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो । सोमबार मात्रै ६ वटा परिवारलाई घरघरमै जस्तापाता पु¥याइएको मल्लले बताए । एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो ।

८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरु घरघरमै पुगी पोषिलो आहार तथा उपयोगी सामाग्रीहरुसमेत हस्तान्तरण गरेका थिए । सोमबारको एकीकृत शिविरमा २१९ जनाको निशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो भने २०४ जनाले आयुर्वेद सेवाका साथै औषधि प्राप्त गरेको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए । शिविरमा गर्भवतीलाई भिडियो एक्सरेका साथै पोषिलो पीठो वितरणसमेत गरिएको थियो । ११ जना गर्भवतीले उक्त सेवा लिएका थिए । ५ जना महिलालाई परिवार नियोजनको अस्थायी साधन आयुसिडी र इम्प्लान्ट लगाइएको थियो । कृषि र पशुतर्फ २०० जनाभन्दा बढीले सेवा लिएका थिए ।

पशु सेवातर्फ गाई भैंसी, बाख्रा कुखुराका औषधिहरु र कृषितर्फ ७ थरीका तरकारीका बिउहरु निशुल्क वितरण गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक कृष्ण डुम्रेले बताए । एकीकृत शिविरअन्तर्गत नै ४ नम्बर श्री आधारभूत विद्यालयको घेराबार तथा तारजाली योजनाको अनुगमन गरी स्थलगत रुपमै भुक्तानी दिइएको थियो । सोमबार नै ४ नम्बर वडाका विभिन्न विद्यालयको अनुगमनसमेत गरिएको उपाध्यक्ष वनस्तम थिङले बताए । गाउँपालिकाले चैत ६ गते ९ नम्बर वडा कार्यालय डन्टार, ६, ७ र ८ नम्बर वडाका लागि राक्सिराङ ७ स्थित जुरेथुममा चैत १४ गते र चैत २२ गते वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुङ्गुमा एकीकृत शिविरको आयोजना गर्ने कार्यक्रम तय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।