हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले ८ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

शनिबार नित्यगोविन्द स्मृति मातृभूमि संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझीलाई नगद २० हजार सहित पुरस्कार प्रदान गरिएको थियो भने मायादेवी मातृभूमि साहित्य पुरस्कारबाट काठमाडौंकी साहित्यकार सीता विष्टलाई नगद २१ हजार सहित पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै, क्षेत्रबहादुर बानियाँ स्मृति मातृभूमि सम्मानबाट मकवानपुरका अग्रज साहित्यकार रमेश मोहन अधिकारीलाई नगद १५ हजार सहित प्रदान गरिएको छ भने राजकुमार बानियाँ स्मृति मातृभूमि सम्मानबाट रौतहटका साहित्यकार हरिकृष्ण काफ्लेलाई नगद १५ हजार सहित प्रदान गरिएको थियो ।

कार्यक्रममा हातेमालो मातृभूमि युवा सृजनशील युवा सम्मानबाट हेटौंडाका राष्ट्रिय गायक सुजिल कर्माचार्यलाई नगद १० हजार सहित प्रदान गरिएको छ । मायादेवी मातृभूमि सहित्य सम्मानबाट यस वर्ष बारा कलैयाकी सहित्यकार अप्सरा पुडासैनीलाई १० हजार नगद सहित सम्मान गरिएको छ भने मञ्जु सुवेदी मातृभूमि सम्मानबाट मकवानपुरकी पत्रकार सम्झना कार्की (नानीमैयाँ)लाई १० हजार नगद सहित सम्मान प्रदान गरिएको छ । त्यस्तै, मङ्लादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मानबाट हेटौंडाका बाल गायक चिराग डंगोललाई नगद ७ हजार पाँच सय सहित सम्मान गरिएको थियो ।

सम्मान तथा पुरस्कार कार्यक्रम सँगै समाजले आफ्नो २३ औं वार्षिक साधारण सभा समेत गरेको थियो । सोही अवसरमा विभिन्न स्रष्टाहरुले आफ्नो रचना बाचन गरेका थिए । कार्यक्रममा समाजका संरक्षक ह्यग्रीव आचार्य, सल्लाहकार देवराज खरेल लगायत मकवानपुरमा रहेका विभिन्न साहित्यिक संघसंस्थाका अध्यक्ष एंव प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।