हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ कोमेन्दोहात्तिआलका ६० बर्षीय इन्द्र बहादुर मोक्तानको दैनिकी कृषि कर्ममै बित्छ । सानै उमेरदेखि कृषिमा रमाएका उनी विहानदेखि बेलुका सम्म खेतिपातिमै व्यस्त हुन्छन् । उनको अधिकांश समय विरुवाको गोडमेल, रेखदेख, टनेल र बारीमै बित्छ ।

“सानै देखि कृषिमा लगाव थियो, बुबाले गरेको परम्परागत कृषि खेती मै रमाए, जे होस् सन्तुष्टी छु, परिवारको यसमा ठूलो साथ छ ।” उनले भने । ११ बर्षदेखि नै बुबा संग कृषि कर्म संगै बुबाको पछि पछि लागेर हलो जोत्न सिके । १६ बर्षदेखि आफैंले हलोजुवा चलाउन थाले उनले थपे अहिले धेरैले ट्याक्टरले जोत्छन तर म हलो नै प्रयोग गर्छु । खेत वारीमा जोत्न हलो र खन्न कोलादोकै प्रयोग गर्ने गरेको उनले बताए ।

माटोको उर्वरशक्ति बढाउन जैविक मलको प्रयोग गर्ने गरेका मोक्तानले गाईको गौत जम्मा गरेर बोट बिरुवामा प्रयोग गर्ने गरेको अनुभव सुनाए । अर्गानिक तरकारी उत्पादन गर्न सके स्वास्थ्यका लागि फाइदा हुन्छ, मोक्तानले थपे अहिले सम्म मैले अस्पताल र स्वास्थ्य चौकीको औषधि खानुपरेको छैन । ६० बर्षको उमेरमा पनि सुगर, प्रेसर केही छैन, उनले भने यो सबै अर्गानीक तरकारी र सक्रियताको कमाल हो । उनले मकवानपुर सहित नेपाल भरका सबैले अर्गानिक तरकारी खेति गरे सबैको स्वास्थ्य राम्रो हुने विश्वास व्यक्त गरे ।

पहिला परम्परागत मकै, धान कोदो खेति मात्रै हुन्थ्यो, हामीले तरकारी खेति पनि गर्न जानेका थिएनौं, तत्कालिन समयमा गाविस हुँदा तरकारी खेति गर्ने तालिम पाएपछि माटो अनुसारको तरकारी खेति गर्न थालेको उनले स्मरण गरे । माटो अनुसारको तरकारी उत्पादन गर्न सके राम्रो आम्दानी गर्न सकिने शिक्षा पाएपछि तरकारी खेति सुरु गरेको उनको अनुभव छ ।

परम्परागत रुपमा मात्रै खेति गरेर हुँदैन, उनले भने अहिलेको प्राविधिक सल्लाह अनुसार खेति गरे राम्रो आम्दानी गर्न लिन सकिन्छ । तालिमबाट शिक्षा पाएपछि २०५९ सालदेखि तरकारीको टनेलखेति सुरु गरेका मोक्तानले अहिले मनग्य आम्दानी गरिरहेका छन । टनेलबाट तरकारी खेति गर्दा राम्रो आम्दानी भएपछि उनले नियमित रुपमा तरकारी खेति गरिरहेको बताए । एउटा टनेलबाट तरकारी खेति सुरु गरेका मोक्तानको अहिले ६ वटा टनेल छ । उनले एउटा टनेलबाट एक लाख सम्मको आम्दानी लिन सकिने अनुभव सुनाए । उनले व्यवसायिक खेति गर्नका लागि थेवा एकिकृत कृषि तथा पशु फर्म मार्फत कृषि काम गरिरहेको बताए । अहिले उनको कृषि फर्ममा टमाटरको टनेल छ ।

१५ वटा टनेलमा खेति गर्ने लक्ष्य लिएका मोक्तानले अर्गानिक तरकारी खेति गर्न सुझाव दिए । तरकारी खेति तीन बालि हुन्छ, मोक्तानले भने दुई वाली टमाटर र एक वाली साग, काउली, बन्दा लगाउने गरेको छु । एक टनेलबाट एक बर्षमा एक लाख कमाउँछु, ६ वटा टनेलबाट बार्षिक ६ लाख सम्म आम्दानी हुन्छ, उनले थपे । टनेल निर्माणका लागि लगभग दुई लाख रुपियाँ खर्च भएको उनले बताए । उनको बारीमा केरा, आप, लिच्चि, कागती लगायतका बिरुवा पनि रहेका छन ।

निर्वाहमुखी खेतिबाट व्यवसायिक खेतिमा लागेका उनी कृषि कर्ममा सन्तुष्ट रहेको सुनाए । परिवारबाट पनि कृषिका लागि पूर्ण साथ र सहयोग पाएको र परिवारहरुले पनि बिरुवा रोप्ने समयमा पूर्ण सहयोग गरेको बताए । कृषिमा क्रान्ति गर्ने जिवनको मुल उद्देश्य बोकेका मोक्तानले बिषादी रहित तरकारी उत्पादन गर्न सबैलाई आग्रह गरे । यता गाउँमै नमुना कृषकका रुपमा काम गरिरहेका मोक्तानको कृषि कर्मलाई टेवा पुगोस भनेर बागमती गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष इन्द्र मणी तिमल्सिना (केशव) ले सिंचाईको व्यवस्था मिलाईदिएको जानकारी दिए ।