मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक पक्ष राम्रै रहने देखिन्छ । पर्यटन, मनोरञ्जन र प्राविधिक कारोबार फस्टाउनेछ । सेयर बजारको कारोबार भने त्यति राम्रो हुन्न, तर मेसिनरी, निर्माण र खाद्यान्नको व्यवसायबाट भने राम्रो हुनसक्छ । पुरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नसक्छ । आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर र चैत महिना राम्रो छ ।

प्रेम/सम्बन्ध
सबैसँगको सम्बन्ध सामान्य नै रहनेछ । पतिपत्नी या प्रेमी प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । कसैकसैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन् । वर्षको उत्तरार्धमा नयाँ प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अत: विवाद बढ्न सक्छ र आफ्नो कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव पनि बढ्नसक्छ । शत्रु पनि हावी हुनसक्छन् ।

शिक्षा
यो वर्ष पठनपाठनमा सफलता मिल्ने देखिन्छ । विशेषगरि स्वास्थ्य, डिजाइन, साहित्य र मनोरञ्जन विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधुरा विषयमा पनि उत्तीर्ण हुन सकिनेछ । वैदेशिक विद्यार्थीहरूले भने अलि बढी मिहिनेत र संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्रबाट जेठ, असोज र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष वैदेशिक व्यापार व्यवसाय घट्ने र आर्थिक क्षति हुनसक्छ अत: कटाई लगानी गर्नु पूर्व विचार निकै पुर्याउनु पर्छ । कडा मिहिनेत गरे पद र प्रतिष्ठा भने पाइने र प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । हार्डवेयर, जग्गाजमिन र दलाली पेशामा आवद्ध व्यक्तिहरूको बढी लाभ हुनेछ ।

स्वास्थ्य
यो वर्ष वायुविकार, हड्डी र नशाको समस्या बढ्न सक्छ, अत: आहार विहार र स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या भने समाधान हुनेछ ।

शुभ रङ्ग
हरियो, रातो, गुलाबी र सेतो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पीडाबाट बच्न नवग्रहको शान्ति गर्दा राम्रो हुनेछ । भगवान शिवजी र भैरवजीको दर्शन, पूजा, आरधना, पाठ र जप गर्नाले राम्रो हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।