दोहा । रोजगारीको सिलसिलामा कतारको राजधानी दोहामा कार्यरत नेपाली समुदायले कतारमा नयाँ बर्ष मनाएका छन । कतार एयरवेज गु्रपमा कार्यरत नेपालीहरुले दोहाको मुन्ताजा पार्कमा जम्मा भएर २०८० सालको शुभकामना आदानप्रदान गर्दै नयाँ बर्ष मनाएका हुन ।

जागरुक युवा समाज नेपालले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम गरेको थियो । रोजगारीका क्रममा नेपालबाट गएका नेपालीहरु सहभागि कार्यक्रममा नयाँ बर्षले नयाँ उमंग थप्ने विश्वास लिर्दै उनीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गरेका थिए । जागरुक युवा समाज नेपालका सल्लाहकार रविन्द्र प्रसाद पोखरेल र समाजका अध्यक्ष यादव प्रसाद चौलागाईले संयुक्त रुपमा क्यालेण्डको बिमोचन गरेका थिए ।

रोजगारीको सिलसिलामा दोहामा ९ बर्षदेखि कार्यरत हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मयुरधापका सन्तदेव मोक्तान साथीभाई भेटेर नयाँ बर्ष मनाउन पाउँदा निकै हर्षित र खुसी छन । उनले परिवारदेखि टाढा भएपनि यहाँको नेपाली समुदाय परिवार जस्तै भएकाले जमघट भएर नयाँ बर्ष मनाउँदा परिवारदेखि टाढा हुनुपरेको पीडा भुलेको बताए । त्यस्तै दोहामै कार्यरत हेटौंडा–६ का रुपनारायण सापकोटा पनि नयाँ बर्षमा जागरुकले मिलाएको जमघटले परिवारको याद भुलाएको बताउँछन ।

कतार एयरवेज गु्रपमा कार्यरत दिपेश आचार्य पनि विदेशमा हुँदा पनि नेपालमै भए जस्तो अनुभव भएको तर्क गर्दछन । नयाँ बर्षमा विहानै परिवारसंग भिडियो कल गरेर शुभकामना आदानप्रदान गरेका उनी यहाँ सबै जम्मा हुँदा परिवारमै बसे जस्तो अनुभवन भएको बताउँछन ।

यस्तै दोहामा कार्यरत चितवन राप्ती नगरपालिका वडा नं. ७ बिरेन्द्रनगरका लोक बहादुर पुन, तनहँु भिमाद नगरपालिका वडा नं. ७ का हिरालाल विश्वकर्मा, गोर्खा सिरान चोक वडा नं. ८ का नविन थापामगर, बिदुर नगरपालिका ५ माझीटारका निरोज कुमार थापाको पनि अनुभव उस्तै छ । बिहान, दिउँसो, बेलुका र राती ड्युटीका सिफ्ट हुन्छ, यहाँ कार्यरत नेपालीले भने तै पनि मिलेसम्म साथीभाइ जम्मा भएर हामीले नयाँ बर्ष मनायौं ।

कतारमा हाल करिव चार लाख नेपालीहरु कार्यरत रहेका छन ।