एजेन्सी । श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको छ । त्यहाँका सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको हिजोको संसदमा स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले जानकारी गराए ।

सरकारी अस्पतालमा १ हजार ३ सय ४७ प्रकारका औषधि प्रयोग हुँदै आएको र त्यसमध्ये १ सय १२ प्रकारका औषधिको अभाव रहेको मन्त्री रामबुकवेलाको भनाइ छ । श्रीलङ्का सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयको आग्रहपछि अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ (१२ करोड ४० लाख डलर) थपेको र औषधि खरिदपछि अभाव छिट्टै हट्ने स्वास्थ्यमन्त्रीको दाबी छ । श्रीलङ्काले आर्थिक सङ्कटका कारण सन् २०२२ देखि नै औषधिसहित अत्यावश्यक वस्तु तथा सेवाको समस्या झेल्दै आएको छ ।