एजेन्सी । वीर्यदान मार्फत् पाँच सय ५० जनाभन्दा धेरै बच्चा जन्माउन योगदान गरेका एक जना डच पुरुषलाई नेदरल्याण्ड्सको अदालतले अब त्यसो नगर्न आदेश दिएको छ ।

जोनाथन नाम गरेका ४१ वर्षीय ती पुरुषलाई अब वीर्य दान नगर्न आदेश दिदै अदालतले पुनः वीर्य दान गरेमा एक लाख युरोभन्दा धेरै रकम जरिबाना हुने बताएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१७ मा एक सय भन्दा धेरै बच्चा जन्माउनका लागि बुवाको भूमिका निर्वाह गरेपछि नेदरल्याण्ड्सका प्रजनन् क्लिनिकहरूमा उनलाई वीर्य दान गर्न प्रतिबन्ध लगाइएको थियो । तर त्यसपछि अनलाइनमार्फत विदेशमा वीर्य दान गरेर पाँच सय ५० भन्दा धेरै बच्चा जन्माएको अदालतको ठहर छ ।

ती व्यक्तिले सन् २००७ देखि वीर्य दान शुरु गरेका थिए । अदालतले ती व्यक्तिको वीर्य संकलन गर्ने क्लिनिकहरुलाई यस अघि संकलन गरेको वीर्य तत्काल नष्ट गर्न पनि आदेश दिदै अब संकलन नगर्न भनेको छ । नेदरल्याण्ड्सको कानुन अनुसार एकजना वीर्यदाताले १२ परिवारमा २५ जना भन्दा धेरै बच्चाका लागि बाबु बन्न मिल्दैन ।

एकै व्यक्तिको वीर्यबाट धेरै बच्चा जन्मदा दाजुभाइ र दिदीबहिनीको नाताको सञ्जाल ठूलो हुने र दाजुभाइ–दिदीबहिनीबीच अनजानमै विवाह भएर सन्तान जन्मिन सक्ने सम्भावना रोक्नको लागि वीर्यदाताहरूलाई आफ्नो सेवा कम संख्यामा सीमित नगर्न अदालतले भनेको छ ।