हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.६ जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा पर्सौनि नगरपालिका वडा ५ बस्ने २५ वर्षीय लाल बाबु सहनि मलाहा र सोही स्थान बस्ने २० वर्षीय गोरख भन्ने रबिन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२० प ४२३७ नम्बरको दुई यात्रु सवार मोटरसाइकल आफै अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल पाखामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीको टोली लाल बाबु सोही बुधबार साँझ साँढे ८ बजे नै उद्धार गरी हेटौंडा अस्पताल ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रबिन्द्रको दुर्घटना भएको भोली पल्ट अर्थात आज बिहिबार विहान सँवा ७ बजे सडकबाट करिब दुई सय फिट तल मृत अवस्थामा फेला परेको प्रवक्ता कार्कीले बताए । दुबै शव हेटौंडा अस्पतालमा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए ।