एजेन्सी । चीनको अदालतले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वाशिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ ।

चीनको पूर्वी सहर सुझोउमा रहेको एउटा अदालतले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हङकङका स्थायी बासिन्दा लेउङलाई जासुसी गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ र आजीवन राजनीतिक अधिकारबाट वञ्चित गरिएको छ ।

सन् २०२१ को अप्रिलमा सुझोउका अधिकारीहरूले ७८ वर्षीय लेउङविरुद्ध ‘कानुनी कदम चालेका’ विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ पर्दा लेउङ कहाँ बस्दै आएको थियो भन्ने स्पष्ट भइसकेको छैन ।

बेइजिङमा रहेको अमेरिकी दूतावासका प्रवक्ताले सुझोउमा भर्खरै एक अमेरिकी नागरिकलाई दोषी ठहर गर्दै सजाय सुनाइएको खबरबारे आफूहरू जानकार रहेको बताए।

विदेश मन्त्रालयका प्रवक्ताले भने , ‘विदेश मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही छैन । गोपनीयताको विचारको कारण हामीसँग थप टिप्पणी छैन ।’

अदालतको बयानले आरोपहरूको बारेमा थप विवरण दिएको छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमवार नियमित पत्रकार सम्मेलनमा यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरे ।