काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । गत साताको मंगलबारदेखि बजार निरन्तर छैठौं दिन बजार बढेको हो ।

यसैक्रममा आज नेप्से उच्च अंकले बढेर १९ सय बिन्दु माथि उक्लिएसँगै कारोबार रकम पनि बढेर २ अर्ब माथि पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५१.३१ अंकले बढेको छ । २.७१ प्रतिशतले बजार बढ्दा नेप्से १९४२.६३ अंकमा उक्लिएको छ ।

आज २७१ कम्पनीका ६० लाख ६७ हजार ४ सय ३२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २० करोड २३ हजार ९ सय ४५.८७ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार उच्च अंकले बढेको दिन चार कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । कालीका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढ्दा सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।

आज सबैभन्दा बढी सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले २ प्रतिशतले घाटा व्यहोरेका छन् । आज १४ कम्पनी बाहेक सबैको शेयर मूल्य बढेको छ ।

आज पनि शिवम् सिमेन्टकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ५ लाख १५ हजार ४ सय ३९.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार बजार ५.८८ अंकले बढ्दा १ अर्ब ६९ करोड ४ लाख ९२ हजार ७ सय ३१.५३ रुपियाँ र हिजो सोमबार ८.१० अंकले बजार बढ्दा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७ सय २६.३८ रुपियाँ बराबरको कारोबार भएको थियो ।