हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ रजैयामा बसको झ्याँलबाट हात बाहिर निकाल्दा हात चुँडिएर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० बर्षीय पुरुष रहेका छन भने उनको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार शनिबार बिहान बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा अर्कोतिरबाट आएको ट्रकले च्याप्दा ती पुरुषको पाता भन्दामुनिको भाग चुँडिनुका साथैं निधारमा चोट लागेको थियो ।

दाहिने हातको टुक्रा पछि प्रहरीले उद्धार गरी अस्पताल पठाएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रवक्ता कार्की बताए । हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा आपसमा सडक क्रस गर्ने क्रममा च्यापिएर ती पुरुषको हात चुँडिएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।