

रत्ननगर, चितवन । चितवनको रन्ननगर नगरपालिका–१६ हात्तिगाडे टोलकी बिजु थापा गृहिणी हुन् । घरधन्दाका कामसँगै निर्वाहमुखी पशुपालन र कृषि पेशा गरिरहेकी उनी केही समययता घरको कामभन्दा पनि बाख्राको स्याहारसुसारमै व्यस्त देखिन्छिन् ।
एक वर्षयता व्यवस्थित खोर निर्माण गरी ८ वटा माउ बाख्रा पाल्न सुरु गरेकी बिजुको खोरमा अहिले सानोठूलो गरी २३ वटा बाख्रा भएका छन् । बाख्रा पाल्न सुरु गरेको एक वर्षकै अवधिमा धेरै पाठापाठी जन्मेर हुर्कँदै गर्दा उनीमा व्यावसायिक बाख्रापालनको सोच विस्तार भएको छ । घरधन्दाको काम बुहारीलाई जिम्मा लगाएर उनी पति र छोराको पनि साथ लिएर बाख्राकै स्याहारसुसारमा व्यस्त बन्न थालेकी छन् । बारीमा भुईघाँस र डालेघाँस पनि रोपेकी छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौंडाले बाख्रापालनमा अनुदान दिएसँगै थापासँगै १६ परिवार गृहिणीहरुको दैनिकी बदलिएको छ । खोर निर्माण र माउबाख्रा खरिदका लागि आयोजनाले ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि त्यहाँका गृहिणीहरु व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । १६ परिवारले करिब ६४ लाख रुपैयाँको लगानी सुनिश्चित गरेसँगै आयोजनाले ५० प्रतिशत रकम अर्थात करिब ३२ लाख रुपैयाँ तीन किस्तामा अनुदान उपलब्ध गराएको हो ।
प्रत्यक खोरमा ८/८ वटा बाख्रा राखेर स्याहार सुसार गर्न थालेका गृहिणीहरुको खोरमा अहिले २५ वटासम्म बाख्रा रहेको समूहकी अध्यक्ष ईश्वरी सिंखडाले बताइन् । ‘निर्वाहमुखी बाख्रापालनबाट सबैजना व्यावसायिकतर्फ अघि बढेका छन् । टोलभरी नै बाख्रापालन सुरु भएपछि पहिचान नै बनेको छ । बोकाबाख्रा खोज्न घरघरै मानिसहरु आउन पनि थालेका छन् ।’ अध्यक्ष सिंखडाले भनिन् । बाख्रापालनलाई निरन्तरता दिनको लागि नगरपालिकाबाट थप अनुदानहरु माग गर्ने तथा तालिमहरुको माग गर्ने योजनामा रहेको अध्यक्ष सिंखडाले बताइन् । उत्पादित खसीबोकाहरु समूहले काटेर मासु बिक्री गर्ने योजना बनाई अघि बढिरहेको पनि उनले बताइन् ।
संघीय कृषि तथा पशुपंक्षी मन्त्रालय मातहत रहेको आयोजनाले २०७४/०७५ देखि दूध र मासु उत्पादनलाई केन्द्रित गरी काम गरिरहेको छ । विश्व बैंकको ऋण अनुदानमा सञ्चालित आयोजनाले आव २०७९/०८० सम्म नेपालका ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरुमा काम गरेको छ । दूध, खसीबोकाको मासु र पश्मिनाको उत्पादकत्व र उत्पादन वृद्धि गर्ने, दूध, खसीबोकाको मासु र पश्मिनाजन्य पदार्थको मूल्य अभिवृद्धि गराउने, पशुपालन क्षेत्रमा थप लगानी आकर्षित गराउनेलगायतका उद्देश्यले आयोजनाले व्यावसायीकरण र यान्त्रीकरणमा अनुदान दिने गरेको छ ।
पत्रकार केशव समर्पणले तयार पारेको समाचार सामाग्री ।
प्रतिक्रिया दिनुहोस्