हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य हरेक कार्यस्थल अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिएका छन ।

अपाङ्गता दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले भन्नुभएको छ,‘हरेक स्थानमा निर्माण गरिने भौतिक संरचनाहरु, सार्वजनिक यातायातका साधन,सडक,सेवा प्रवाह गरिने सार्वजनिक निकाय एवम् विभिन्न कार्यस्थललाई अपाङ्गमैत्री बनाइनुपर्दछ ।’

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रतिबद्घता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्घता’ भन्ने नारासहित नेपालमा आइतबार ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर ३ का दिन यो दिवस मनाउँदै आइएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले फरक क्षमताका सम्पूर्ण देशबासीप्रति आफूले उठाउँदै आएका मुद्घाहरुमा सफलता प्राप्तिका लागि सफलता मिलोस् भन्ने शुभकामना दिएका छन ।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई कानूनी रुपमा अधिकारसम्पन्न बनाइएको उल्लेख गर्दै उनीहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा समावेशिताका लागि विभिन्न अभियानहरु सञ्चालन पनि भइरहेको उनको भनाई छ । समाजले अपाङ्गता भएकाहरुको अवस्थालाई हेर्ने दृष्टिकोणलाई रुपान्तरण गर्दै विकासको मूल प्रवाहमा सहभागिता गराउने कार्यमा कन्ज्युस्याँई हुुनु नहुने प्रमुख शर्माको भनाई छ । उनीहरुको पक्षमा प्रभावकारी ढङ्गमा क्रियाशील हुनुनुपर्ने शर्माको सन्देशमा उल्लेख छ । ‘फरक क्षमता भएका व्यक्तिका लागि शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता पक्षमा प्रभावकारी ढङ्गबाट क्रियाशील रहनु सबैको दायित्व हो ।’ शर्माले भने ।

प्रदेश प्रमुख शर्माले अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकाय लगायत सबैलाई भिन्न क्षमता भएका नागरिकको पक्षमा सदैव क्रियाशील रहन यो दिवसले उर्जा मिलोस् भनेका छन ।