हेटाैँडा । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेकपा (एमाले) मकवानपुरमा हलचल देखिएको छ । जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक भएको उनले उल्लेख गरेका छन् ।
नेकपा माले हुँदै एमालेमा आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्रा रहेको स्मरण गर्दै पोखरेलले अहिले पार्टीले भोगेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताएका छन् । समस्याको कारण नखोजी गोलमटोल भाषामा प्रतिक्रिया दिने तथा ईर्ष्या र घमण्डपूर्ण प्रवृत्तिले पार्टीलाई सही दिशामा लैजान नसक्ने उनको भनाइ छ।
‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, ईर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन । त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमिक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो,’ उनले फेसबुकमा लेखेका छन्। पार्टीलाई सही दिशामा अघि बढाउन शीर्ष नेतृत्वदेखि तल्लो तहसम्म सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। आवश्यक परे नेतृत्व तहले जिम्मेवारी लिँदै राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि बाटो खोल्नुपर्ने उनको धारणा छ ।
‘पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वलाई बाटो प्रशस्त गर्नुपर्छ,’ उनले उल्लेख गरेका छन् । यसै सन्दर्भमा आजकै दिनदेखि लागू हुने गरी आफूले अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेको उनले बताएका छन् ।
पोखरेलले अब आउने युवा पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने धारणा व्यक्त गर्दै उनीहरूलाई आफ्नो पूर्ण साथ र सहयोग रहने बताएका छन् । साथै उनले प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सबैप्रति जनमतको कदर गर्दै धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्