हेटौँडा । हेटौँडा–६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको अवलोकन गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ मा रहेको बेलचोक टोल विकास संस्थाले शान्तिटोल टोल विकास संस्थाको स्थलगत अवलोकन गरेको हो । टोल विकास संस्थाले गरेका विभिन्न कार्यहरूको अवलोकन गर्ने उद्देश्यले भ्रमण गरिएको हो ।

सो अवसरमा शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धिताल, सचिव प्रदीप ढुङ्गाना, कोषाध्यक्ष पूर्णभद्र चौलागाईंलगायतले टोल विकास संस्थाले गरेका विभिन्न कार्यहरूको बारेमा जानकारी गराएका थिए । शान्तिटोल टोल विकास संस्थाले बचत तथा ऋणको कारोबार, श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन, घर नम्बर व्यवस्थापन, भौतिक संरचना निर्माण, टोलमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, मठमन्दिर निर्माण, सार्वजनिक जग्गाको व्यवस्थापन, स्लाब ढलान, विद्युत् तथा पानीको व्यवस्थापनलगायतका सामाजिक कामहरू गर्दै आएको छ ।

संस्थाले विद्युतीय माध्यमबाट कारोबार गर्नुका साथै ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बेलचोक टोल विकास संस्थाका अध्यक्ष कृष्ण लम्सालको नेतृत्वमा आएको भ्रमण दलमा कार्यसमिति तथा टोल विकास संस्थाका सदस्यहरूको सहभागिता थियो ।

शान्तिटोल टोल विकास संस्थाको आफ्नै भवन समेत रहेको छ । हेटौँडा उपमहानगरपालिका भित्र रहेका टोल विकास संस्थामध्ये यो उत्कृष्ट टोल विकास संस्था हो । टोल विकास संस्थामा एक सय २० घरधुरी रहेका छन् ।

भीमसेन पौडेल
थप जानकारी