हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत मकवानपुरको बागमती र बकैया गाउँपालिकामा सडकको सौन्दर्य तथा हरियाली प्रवद्र्धनका लागि एक हजार २०० फूलका बिरुवा रोपिएका छन् ।

डिभिजन वन कार्यालय मकवानपुरले सडक किनारमा हरियाली विस्तार गर्ने अभियानअन्तर्गत बागमती गाउँपालिकामा ९०० र बकैया गाउँपालिकामा ३०० फूलका बिरुवा रोपेको हो । यस वर्ष बागमती गाउँपालिकाको झुरझुरेसम्म सडक किनारमा असारे, कल्की, चेरी, ज्याकरान्डा, करविर र विरेन्द्र फूलका बिरुवा रोपिएका छन् ।

डिभिजन वन कार्यालयले गत वर्षदेखि सुरु गरेको सडक हरियाली कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो । अघिल्लो वर्ष भुवनचुलीदेखि बागमतीसम्म बिरुवा रोपिएको थियो भने यस वर्ष झुरझुरेसम्म हरियाली प्रवद्र्धन गरिएको डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीले जानकारी दिए ।

उनका अनुसार सडक किनारमा रोपिएका फूलका बिरुवाले वातावरणीय सन्तुलन कायम गर्न, वायु तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्न, कार्बन सञ्चिति वृद्धि गर्न, अक्सिजन उत्पादन बढाउन तथा हरित बढाउन सहयोग पुग्नेछ । यस्ता बिरुवाले तापक्रम नियन्त्रण, जलसञ्चय, भू–संरक्षण तथा सडकको भूदृश्य सौन्दर्यीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

सडक किनार वृक्षारोपण समिति बागमतीका संयोजक विवेक सिन्तानले असारे, ज्याकरान्डा, करविरलगायतका फूलका बिरुवाले सडकको तापक्रम घटाउनुका साथै सडकलाई आकर्षक बनाउन सहयोग पुग्ने बताए । डिभिजन वन कार्यालयको सहयोगमा स्थानीयको सहभागितामा बिरुवा रोपण र संरक्षणको काम भइरहेको उनको भनाइ छ ।

डिभिजन वन कार्यालयले सडक हरियालीसँगै व्यावसायिक फलफूल खेती प्रवद्र्धनका लागि किसानलाई एभोकाडो, आँप, लिच्ची, अम्बा लगायतका बिरुवा पनि वितरण गरेको छ । वन्यजन्तुबाट कम क्षति हुने रानीबेल, बारहमासे कटहर, मोरिङ्गा, जापानिज हलुवावेद, एभोकाडोलगायत एक हजार ९५० बिरुवा मकवानपुरगढी गाउँपालिका–३, ४ र ७ का किसानलाई उपलब्ध गराइएको छ ।

यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय परिसरमा वृक्षारोपणका लागि फूल तथा फलफूलका १५ हजार ८८० बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । हेटौँडा–१० स्थित सिसौघारीमा रहेको नर्सरी तथा अन्य स्रोतबाट खरिद गरिएका बिरुवा किसानको मागका आधारमा वितरण गरिएको डिभिजनल वन अधिकृत चन्द्रवंशीले जानकारी दिए ।

नर्सरीबाट अमला, हर्रो, बर्रो, कागती, म्याङ्गोस्टिन, निम, महुवा, सुपारी, सिमल, तेजपातलगायतका बिरुवा नियमित रूपमा उत्पादन तथा वितरण हुँदै आएको छ । निजी तथा सार्वजनिक जग्गामा फूल, फलफूल र जडीबुटीजन्य बिरुवा रोप्न प्रोत्साहन गर्दै हरियाली प्रवद्र्धनको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका अनुसार वृक्षारोपण तथा बिरुवा संरक्षणबाट वातावरण स्वच्छ राख्न, जैविक विविधता संरक्षण गर्न र जडीबुटी तथा फलफूल उत्पादनमार्फत स्थानीयको आयआर्जन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । निजी जग्गामा जडीबुटी र फलफूल उत्पादन बढेपछि वन क्षेत्रमा रहेको प्राकृतिक स्रोतको संरक्षणमा समेत टेवा पुग्ने विश्वास कार्यालयले लिएको छ । मकवानपुर जिल्लामा कुल एक लाख ६६ हजार १४५ हेक्टर वन क्षेत्र रहेको छ । त्यसमध्ये डिभिजन वन कार्यालय मकवानपुरको कार्यक्षेत्रमा ७१ हजार ७५४ हेक्टर वन क्षेत्र तथा २१० वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।