हेटौँडा। हेटौँडा हुँदै संघीय राजधानी काठमाडौं जोड्ने कान्ति लोकपथ र त्रिभुवन राजपथ शुक्रबारदेखि दुईतर्फी सञ्चालनमा आएका छन् । यसअघि पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरखण्ड अवरुद्ध भएपछि यी दुई सडकमार्गमा मालवाहक तथा ठुला यात्रुवाहक सवारीका लागि एकतर्फी व्यवस्था गरिएको थियो । बिहीबारदेखि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर सडकखण्ड सञ्चालनमा आएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा पुनः नियमित दुईतर्फी यातायात खुला गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज २ गतेदेखि लागू हुने गरी दुवै सडकमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जनाएको हो । कृष्णभिरखण्डमा सडक अवरुद्ध भएपछि सवारी आवागमन सहज, सुरक्षित तथा व्यवस्थित बनाउन भदौ १६ गतेदेखि मालवाहक तथा ठुला यात्रुवाहक सवारीसाधनका लागि वैकल्पिक एकतर्फी व्यवस्था गरिएको थियो । उक्त व्यवस्थाअनुसार काठमाडौंतर्फ जाने सवारी त्रिभुवन राजपथ हुँदै र काठमाडौंबाट फर्किने सवारी कान्ति लोकपथ हुँदै सञ्चालन गरिँदै आएको थियो ।
कृष्णभिर सडक सञ्चालन भएसँगै उक्त वैकल्पिक एकतर्फी व्यवस्था हटाइएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ व्यवस्थाबारे सम्बन्धित सबैलाई जानकारी गराउँदै सोहीअनुसार सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्