हेटौंडा । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. १० गोरक्षश्वर मन्दिर परिसरमा अवस्थित ५२ फिट अग्लो हनुमानको मूर्ति । यो हनुमानको मूर्ति निकै नै कलात्मक र आकर्षक रहेको छ । पूर्व पश्चिम राजमार्गको छेउमै रहेको यस क्षेत्रमा स्वदेशी एवम् भारतीय तिर्थयात्रीले पनि दर्शन गर्ने गरेका छन् । हनुमान भक्तहरूले यहाँ हनुमानको पूजा आराधना गर्नुका साथै प्रसादी वितरण गर्ने पनि गरिन्छ ।

मङ्गलवार हनुमान जयन्ती उत्सवका अवसरमा यहाँ पूजापाठ सहित प्रवचन एवं प्रसाद वितरण कार्यक्रम गरिएको थियो । रामभक्त हनुमान सेवा समिति हेटौँडा–१० गोरक्षश्वर मन्दिर मकवानपुरले गरेको हनुमान जयन्ती मङ्गलवार परेको र विशेष दिन भएका अवसरमा आयोजना गरिएको कार्यक्रममा करिव ६ सय साधु, सन्त, सामाजिक एव्म धार्मिक व्यक्तित्वलाई प्रसाधिको व्यवस्था गरिएको संस्थाका सचिव महेन्द्र इटेनीले जानकारी दिए । हेटौँडाको गोरक्षश्वरबाट सुरु भएको र्याली पिपलबोट सम्म पुगेर पुनः हनुमान मन्दिर परिसरमा आएर समापन भएको थियो ।

यसवर्षको हनुमान जयन्ती धेरै वर्षपछि मङ्गलवार परेकाले हेटौँडाको गोरक्षश्वर परिसरमा पहिलोपटक हनुमान जयन्ती उत्सव मनाइएको आयोजक सन्दिप सापकोटाले जानकारी दिए । सम्पदा र संस्कृतिको संरक्षण एवम् संवर्द्धनका लागि आगामी वर्षदेखि नगरको चाडको रुपमा रथयात्रा सहित हनुमान जयन्ती उत्सव मनाउने तयारी गरिएको उनले बताए ।

आर्य संस्कृतिमा चैत्रशुक्ल पूर्णिमाको दिन देशभर रामभक्त हनुमानको जन्मजयन्ती मनाइन्छ । महावीर हनुमानको जन्म चैत्रशुक्ल पूर्णिमाको दिन सुमेरु राज्यका राजा केशरी र माता अञ्जनीको गर्भबाट भएको तथ्य भेटिन्छ । पूर्वजन्ममा अप्सरा रहेकी माता अञ्जनी श्रापबाट मनुष्य योनीमा जन्म लिएकी थिइन् । वर्षौँसम्म कुनै सन्तान नभई गहिरो चिन्तामा परेकी अञ्जनीले भगवान् शिवको कठोर तपस्या गरी उनकै वरदान र पवनदेवको आशीर्वादबाट अत्यन्तै तेजस्वी र पराक्रमी पुत्र प्राप्त गरेकी हुन् । मङ्गलबार र शनिबारको दिन हनुमानको पाठपूजा गर्ने गरिन्छ ।