हेटौँडा। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा खटिनुभएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ । बिहीबार औपचारिक कार्यक्रममार्फत निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण गर्दै बिदाइ गरिएको हो ।

मकवानपुरको हेटौँडा–४ स्थित हुप्राचौर, थाहा नगरपालिकाको पालुङ, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिकाको ठिंगन र बागमती गाउँपालिकाको फापरबारीमा आयोजित कार्यक्रममा निर्वाचनका क्रममा खटिएका प्रहरीलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, प्रहरी उपरीक्षक श्यामबहादुर खत्री लगायतले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाणपत्र वितरण गर्दै प्रजिअ अधिकारीले जिल्ला सुरक्षा समितिलाई आवश्यक पर्दा निर्वाचन प्रहरीलाई पुनः सहयोगका लागि बोलाउन सकिने बताए । उनले निर्वाचन प्रहरी पनि विना बर्दीका प्रहरी भएकाले आफ्नो आनीबानी र व्यवहार मर्यादित राख्न आग्रह गरे।

त्यस्तै प्रहरी उपरीक्षक खत्रीले जिल्लामा सीमित संख्यामा रहेका प्रहरीबाट मात्र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सम्भव नभएको अवस्थामा निर्वाचन प्रहरीले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा व्यक्त गरे । मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक हजार ९२३ जना निर्वाचन प्रहरी खटिएका थिए।