बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाई मन्दिरनजिक यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते र २ जनाको मृत्यु भएको छ। बसले ठक्कर दिँदा दुईवटा मोटरसाइकलमा सवार परिवारसहित घाइते भएका हुन्।
जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक दीपक केसीका अनुसार आइतबार बिहान करिब १० बजे दुर्घटना भएको हो। जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको यात्रुवाहक बसको ब्रेक अचानक फेल भयो। उकालोमा गुडिरहेको बस ब्याक हुन पुग्दा सोही दिशातर्फ गइरहेका दुई मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
ठक्करबाट ना १२ प ३३६० नम्बरको मोटरसाइकलमा सवार बारा फेटा गाउँपालिका–१ भरबलियाका २५ वर्षीय मकेश्वर पटेल, उनकी २६ वर्षीया श्रीमती कविता देवी र करिब २० महिनाकी छोरी तानेया पटेल घाइते भएका थिए। गम्भीर घाइते मकेश्वर पटेललाई प्रादेशिक अस्पताल कलैया बारा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। अस्पतालका डाक्टरले दिउँसो १२:१० बजे मृत घोषणा गरेका थिए।
त्यस्तै, मधेश प्रदेश ०३–०२४ प ४४९५ नम्बरको मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका–३१ का २७ वर्षीय कञ्चनकुमार पटेल, उनकी २२ वर्षीया श्रीमती कलिता देवी र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका थिए। श्रीमती कविता देवीको समेत प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनलाई समेत सोही अस्पतालमा डाक्टरले १२:१० बजे मृत घोषणा गरेका थिए। कञ्चन कुमार र उनका छोराको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बसचालक सर्लाही, लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जले नियन्त्रणमा लिएको छ। दुर्घटनामा सोही बसपछाडि रहेको मधेश प्रदेश ०३–००१ ज ०६६२ नम्बरको इभी माइक्रो गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ।
हाल घटनास्थलबाट बस र मोटरसाइकलहरू हटाउने कार्य भइरहेको छ भने सडक एकतर्फी सञ्चालनमा छ। बसको ब्रेक फेल हुनुका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्