हेटौंडा । आर्थिक मन्दीका कारण सहकारीमा परेको समास्या लगायतका विषयमा बुझ्न हेटौंडा उपमहानगरपालिकाले सहकारीको अनुगमन सुरु गरेको छ ।

उपमहानगर क्षेत्रमा रहेर कारोबार गरिरहेका सहकारीको पारदर्शिता, आर्थिक विश्वसनियता एवम् सहकारीलाई परेको समस्याको बारेमा बुझ्न उपमहानगरपालिकाले मंगलबारबाट अनुगमन थालेको हो । उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ नेतृत्वको टोलीले पहिलो दिन ७ वटा सहकारीको अनुगमन गरेको छ ।

अनुगमनमा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले सहकारीले गरिरहेको कारोबारको अवस्था, शेयर सदस्यमा सहकारी प्रतिको विश्वासनियता, बजेट खर्चको शैली लगायतका विषयमा जानकारी लिएका थिए ।

अनुगमन टोलीले हेटौंडा–२ को साईराम, परिचय, हेटौंडा–१ को अग्रगति, हेटौंडा–१० को सुख समृद्धि, हेटौंडा–७ को हेटौंडा, सृजना बचत तथा ऋण र हेटौंडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी सस्थाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा उपमहानगरले अहिलेको अवस्थामा सहकारीलाई परेको समस्या र स्थानीय तहबाट समाधानका लागि हुनसक्ने सहजीकरणको उपायका बारेमा छलफल समेत गरिएको थियो ।