
हेटौँडा । बागमती प्रदेशका काठमाण्डौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ ।
प्रदेशको तीन वर्षको तथ्याङ्कले बैङ्किङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा वृद्धि भएको देखाएको हो । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८–७९ मा ५६३ भएकोमा आव २०७९–८० मा वृद्धि भइ ९०४ पुगेको थियो भने चालु आर्थिक बर्ष २०८०–८१ को साउनदेखि जेठ मसान्तसम्म एकहजार १८८ पुगेको छ । पछिल्लो तीन आवको तथ्याङ्क हेर्दा चालु आवको जेठ सम्म आपराधिक घट्ना बढेको तथ्याङ्कले देखाउँछ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको जेठ सम्म ज्यान सम्बन्धित ८७९, आत्महत्या सम्बन्धित ८८२, चोरी सम्बन्धित २४४, सामाजिक अपराध सम्बन्धित ७८०, सवारी सम्बन्धित २८६ र अन्य ४२८ अपराधसँग सम्बन्धित घटना घटेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार मुद्दा दर्ता तथा अपराधमा बढोत्तरी भएको छ । आव ७८–७९ को अनुपातमा ७९–८० मा ६.२२ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको तथ्याङ्क छ । आव २०७८–७९ मा चारहजार ४०५ मुद्दा दर्ता भएकोमा आव ७९–८० मा बढेर चारहजार ६७९ पुगेको थियो भने चालु आवको जेठ मसान्त सम्म चारहजार ६८७ मुद्दा दर्ता भएको छ ।
त्यस्तै चालु आवको जेठ मसान्त सम्म ३४१ लागूऔषध, ४४ कर्तव्य ज्यान, २५९ जबरजस्ती करणी, ८ मानव बेचबिखन तथा ओसार पसार, ५ अपहरण तथा शरीर बन्धक, मादक पदार्थ बेचबिखन तथा ओसारपसार ८, डाँका १ र अन्य २५ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
त्यस्तै महिला तथा बालबालिका विरुद्धको अपराध पनि बढ्दै गएको छ । चालु आवको जेठ मसान्त सम्म २५९ वटा जबरजस्ती करणी, ३८ बहुविवाह, ४९ जबरजस्ती करणी उद्योग, ८ वटा मानव बेचबिखन तथा ओसारपसार र २ वटा बाल विवाह सँग सम्बन्धित अपराधका घटना भएको तथ्याङ्क छ । गाेरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्