हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले गरेको राजस्व वृद्धिको विवादबीच एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले विशेष नगरसभा माग गरेका छन्। एमालेका तर्फबाट नगरसभामा सदस्य रहेका ४३ जनाले हस्ताक्षर संकलन गर्दै बुधबार नगरसभाको माग गरेका हुन्।
उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा १६ देखि १५० प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै हेटौँडाका व्यवसायीहरू आन्दोलनमा छन्। राजस्व वृद्धिको विरोधमा व्यवसायीहरू बुधबार मात्रै हेटौँडा उपमहानगरपालिका परिसरमा एक घण्टा धर्नासमेत दिएका छन्।
विशेष नगरसभाको माग गर्दै हेटौँडा ४ का वडाध्यक्ष निवन सिग्देलले राजस्व परामर्श समिति, कार्यपालिका र नगरसभामा छलफल नै नभई उपमहानगरपालिकाको आर्थिक ऐनमा राजस्व दर अस्वाभाविक वृद्धि गरिएको दाबी गरे। उनले उक्त राजस्वको दरका कारण हेटौँडाका व्यवसायीहरू मर्कामा परेकाले विशेष साधारणसभाबाट उक्त वृद्धि भएको कर फिर्ता लिनुपर्ने आफूहरूको पनि माग रहेको बताए।
नगरसाभाका एक चौथाइ सदस्यले लिखित रूपमा विशेष नगरसभा माग गर्न सक्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार हेटौँडाको कुल ९४ नगरसभा सदस्यमध्ये एमालेले ४३ सदस्यको हस्ताक्षरसहित विशेष नगरसभा माग गरेको उनको भनाइ छ।
जनप्रतिनिधिहरूबाट कमी-कमजोरी भए नागरिकहरूको गुनासोलाई सम्बोधन गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन कमी-कमजोरी सुधार गरेर अघि बढ्नुपर्छ। त्यसकारण हामीले विशेष नगरसभाको माग गरेका हौँ,’ उनले भने।
गत नगरसभामा एकमुष्ट रूपमा नीति कार्यक्रम र बजेट पुस्तिका वितरण हुँदा राजस्वका शीर्षक र दरका बारेमा नगरसभा सदस्यहरूले जानकारी पाउन नसकेकाले त्रुटि भएको उनको भनाइ छ। जनप्रतिनिधिको असावधानीका कारण नागरिकहरू मर्कामा परेकाले सो विषयलाई नगरसभाबाटै सच्याउनुपर्ने उनको माग छ।
यता, हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले भने प्रक्रियागत ढंगबाटै राजस्व वृद्धि गरिएको बताए। नगरसभाबाटै राजस्व वृद्धि गरिएकाले कानुनविपरीत नभएको उनीहरूको दाबी छ। व्यवसायीहरूको मागको विषयमा पनि छलफल भइरहेको उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्