काठमाण्डाै । अर्थ मन्त्रालयमा पुँजीगत खर्चसम्बन्धी अन्तर–मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभयो ।

समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउनुहुँदै मन्त्री शर्माले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न मन्त्री शर्माले ताकेता गर्नुभएको हो । ‘बजेटको सम्बन्धमा ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयो, ‘आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’ समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण समन्वयलगायतका काम समयमै गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने पनि मन्त्री शर्माले सचिवहरूलाई सचेत गराउनुभयो । ‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन’, उहाँले भन्नुभयो, ‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ ।’ उहाँले समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा पालिकामा खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने बताउनुभएको हो । ‘खर्च गर्नुस्, बजेट लिनुस्’, मन्त्री शर्माले भन्नुभयो, ‘खर्च गर्नुहुन्न त्यो बजेट समातेर बस्न पाउनुहुन्न ।’

यसैगरी मन्त्री शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जवाफ पठाउन पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायतको सहभागिता रहेको थियो ।