हेटौंडा । बैंकिङ प्रणालीमा तरलता सहज हुने संकेत देखिएसँगै सेयर बजार पनि सुधार हुने संकेत देखिएको छ ।

पछिल्लो समय निरन्तर बढेको बजार आज मंगलबार पनि बढेको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा विस्तारै निक्षेप बढ्न थालेको छ । सोको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज
(नेप्से) का अनुसार मंगलबार कुल २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यता नेपाल बैंकर्स संघले एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको जनाएको छ । वाणिज्य बैंकहरुको निक्षेप बढेर पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ आइपुगेको हो । यद्यपि वाणिज्य बैंकहरुले पुस ९ गतेसम्म ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यस्तै ९ गतेसम्म ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी गरेकोमा वाणिज्य बैंकहरुले पुस १६ गतेसम्म ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस्तै मंगलबारको सेयर बजारमा १०.३४% एग्रिकल्चर बैंक डिबेन्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको हो । एग्रिकल्चर बैंक डिबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा १०% नबिल डिबेन्चर २०८२, १२% आइसिएफसि फाइनान्स डिबेन्चर २०८३ र नबिल बैंकमा पनि उच्च गिरावट देखिएको छ ।

हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने र कमाउने कम्पनीहरुको सूचीः

अनिरुद्रखबर संवाददाता
थप जानकारी