मोरङ । झोराहाट नाट्य समूहको मासिक साहित्यिक शृंखलामा ४ जना कवि प्रस्तुत भएका छन्।
हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको ‘झोराहाटमा साहित्य’ शृंखलाअन्तर्गत शनिबार मोरङ र सुनसरीका ४ जना कविले आफ्ना ४–४ वटा कविता प्रस्तुत गरे। कार्यक्रममा कवि रामबाबु दाहालले ‘म आल्हादित छु’, ‘स्वप्निल मन’, ‘मौनताको आधार शिविरबाट’ र ‘ए कविज्यू के हो कविता?’ शीर्षकको कविता वाचन गर्दा सुनसरीकी कवि मीना श्रेष्ठले ‘भत्किएको सम्बन्ध’, ‘आइमाई बस्ने घर’, ‘सपना र जीवन’, ‘फरगेट एस्र्टडे’ शीर्षकको कविता सुनाए। त्यसैगरी पत्रकारसमेत रहेका कवि मीनकुमार नवोदितले ‘गाउँ सम्झेर गाउँ’, ‘विस्मृति’, ‘बाको झोला’ र ‘छुटी जानेहरु’ शीर्षकको कविता वाचन गरेका थिए।
त्यस्तै इटहरीका कवि विवेक विवश रेग्मीले ‘जुत्ता’, ‘दुधिलोको रुख’, ‘चस्मा’, र ‘केटाकेटीहरु’ शीर्षकको कविता सुनाए। कार्यक्रममा २०७८ मा कृति प्रकाशित गर्ने स्रष्टाहरुलाई समेत झोराहाट नाट्य समूहले सम्मान गरेको थियो। उनीहरुलाई आयोजक संस्थाका अध्यक्ष भरत गुरागाई ‘बर्बरिक’, कवि तथा पत्रकार राजन न्यौपाने, समाजसेवी छत्र काफ्लेलगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गरे।
कोरोनाका कारण लामो समय स्थगित भएको ‘झोराहाटमा साहित्य’ मासिक शृंखलालाई अब निरन्तरता दिइने नाट्य समूहका अध्यक्ष गुरागाईंले बताए ।
साभार नागरिक दैनिक
प्रतिक्रिया दिनुहोस्