आधा तिमी आधा म अट्ने स्वागतद्वार
वर्षौंदेखि खिया लागेर विदीर्ण भएपछि
उदास उदास हिँडिरहेछ समय …..

जो ऐनाले मुख छोप भनिदिँदा पनि
चन्चलताको पछ्यौरा ओढिरहन सक्दैन

जो पाउजूहरुको झङ्कार सुनिरहँदा पनि
जिन्दगीको लय सम्झिरहन सक्दैन

पखालिदिनु उसको धर्म थियो
पानीसँग गुनासोको के अर्थ ?

चुरा ठोक्किएपछि फुट्यो
लाग्यो पत्थरले आफ्नो दुश्मनी निभायो

हरेक बिहान पँधेरीले अलक्षिनाइको
ट्याग झुन्डाइदिँदा गाग्रीमा छचल्किरहन्छ
तरल तरल जिन्दगी

परीक्षाहरुको जङ्घार तर्दातर्दै
भिजिरहन्छ जिन्दगीको कलेवर

शिरको मध्येभागमा तिम्रो नाम फैलाएपछि
आफ्नो अस्तित्व खुम्चाउँदै बाँचिरहँदा
हिउँलाई छोएर पनि तातो हुनुपर्ने

मर्नेहरुलाई पनि बचाईरहन
हिउँजस्तै हुनुपर्ने

कुहिरोको आँचल पक्रिएको पहाड झैँ
लुकिरहनु पर्ने
शिलशिला नमिलेको अनुच्छेद झैँ
अर्थहीन भैरहनु पर्ने

रङ्गिन संवेग जलाउँदैमा
खरानिको रङ नफेरिँदो रहेछ
सेतो पर्दाबाट आँसु निचोर्दैमा
जीवनको रङ नबद्लिदोँ रहेछ

रैयासँग ठोक्किएर फर्किएका बाटोहरु
कति सङ्किर्ण हुनेछ तिम्रो धरातलमा उभिएको
भविष्य ??

जबजब पछ्याउँनु पर्नेछ पूर्वकथाहरुको बाटो
उदास उदास हिँडिरहनेछ समय

तर…..
आँसु बग्छ भने गति त्यहिँ हुनेछ
धड्कन चल्छ भने तरङ्ग त्यहिँ हुनेछ

एकदिन…..
मन भित्रको रित्तो मैदानलाई कुल्चिदैँ
गोधूलिको अन्तिम रङ्गको अवशेषले
गर्नेछ सेता धर्तिहरुसङ्ग संवाद

तब पोखिनेछ अनुहारमा जूनजस्तो उज्यालो
आखिर कतिन्जेल थमाइरहन सक्छु र ?
आशाहरु जुनकीरीको पिठ्युँमा!!

Visited 105 times, 1 visit(s) today
अस्मिता पौडेल ❣️
थप जानकारी