हेटौंडा । मकवानपुरको बिकट राक्सिराङ र कैलाश गाउँपालिकामा ८ सय जनालाई न्यानो कपडा बितरण गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले राक्सिराङ र कैलाश गाउँपालिकाका अतिविपन्न चेपाङ र दलित समुदायका बालबालिका, जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिलाई विभिन्न दाताबाट प्राप्त भएको एक सय थान न्यानो पछ्यौरा, तीन सय थान ज्याकेट र चार सय थान कम्बल वितरण गरिएको थियो ।

राक्सिराङ वडा नम्बर २ कुडुलेको प्रजा प्रगति आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा एक सय ५० बालबालिकालाई ज्याकेट, २ सय जेष्ठ नागरिकलाई कम्बल र ५० जना एकल महिलालाई पछ्यौरा वितरण गरिएको थियो ।

वितरण कार्यक्रममा प्रजिअ पाण्डेसँगै, जिल्ला सुरक्षा निकायका प्रमुख तथा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, औषधि व्यवसायी संघको अध्यक्ष नारायण श्रेष्ठ, पुरानो नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाई, गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै, कैलाश गाउँपालिकाको कार्यालयमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा एक सय ५० बालबालिकालाई ज्याकेट, २ सय जेष्ठ नागरिकलाई कम्बल र ५० जना एकल महिलालाई पछ्यौरा वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका कार्यबहाक अध्यक्ष सुकुमाया थिङ, प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मकवानपुरका उप अनुसन्धान निर्देशक पप्पु शर्मा, सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेस श्रेष्ठ, गाउँपालिका प्रशासकीय अधिकृत देवराज चौलागाई लगायतको सहभागिता रहेको थियो ।

तस्विर सौजन्यः जिल्ला प्रशासन कार्यालय मकवानपुर ।

https://www.facebook.com/photo/?fbid=290008019823871&set=pcb.290009293157077