हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विगतमा विकास गर्ने निकाय वर्तमानमा समन्वयको भूमिकामा रहेको बताएका छन् ।  उक्त भूमिकालाई न्यायोचित रुपमा अघि बढाउन उनले आग्रह गरे ।

जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधान सम्बद्ध हुन जरुरी रहेको उनको भनाई छ । संविधान पालना गर्नु सबैको दायित्व रहेको उनले बताए ।

जिल्ला समन्वय समितिले समन्वयात्मक भूमिकामा रहेर चुस्त, दुरुस्त कार्यसम्पादन यहाँहरूको गाइड लाइन रहेको बताए । बोलेर नभइ गरेर देखाउनुपर्ने उनले बताए  ।

‘नेपालको संविधान २०७२ को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको व्यवस्था छ । उक्त संरचनाले समन्यात्मक भूमिका निर्वाह गर्नुपर्नेछ’ उनले भने, ‘हामीले बोलेर होइन गरेर देखाउनुपर्छ । किनकि मानिस सुन्न होइन ? देख्न चाहान्छ । जटिल परिस्थितिमा अनुकूलता खोज्न कुनै दल र स्वार्थ बिना मकवानपुरको माटो र जनचाहानालाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको छ ।’

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षा कार्यक्रमको अवसरमा विभिन्न १३ विधामा २४ जनालाई सम्मान गरिएको थियो । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मकवानपुरको थाहा नगरपालिका र मनहरी गाउँपालिकाले समान (७३.५) अंक प्राप्त गर्दै प्रथम, हेटौँडा उपमहानगरपालिकाले ७१ अंक प्राप्त गर्दै द्धितिय र मकवानपुर गढी, कैलाश गाउँपालिकाले ७०.५ अंक प्राप्त गर्दै तृतीय हुन सफल भएको थियो ।

सोही अवसरमा बागमती गाउँपालिकामा रहेको भोर्लेनी दुग्ध उत्पादक सहकारी, मकवानपुर पोजेटिभ समूह, इन्द्र सरोवर गाउँपालिका सूचना प्रविधि अधिकृत राजन खतिवडा, जिल्ला समन्वय समितिका पूजा यादव, समाजसेवातर्फ अर्पण पराजुली र कल्पना शर्मा, खेलाडी बक्सिङका सोहन राई, कबड्डी र उस्सुका शान्ति थिङ, सामुदायिक वन तर्फ मनकामना सामुदायिक वन उपभोक्ता समूह मकवानपुर गढी–४ र थाहा–१ की स्वास्थ्य स्वयंसेविका सुनमाया गोपालीलाई सम्मानपत्र सहित सम्मानित गरिएको थियो ।

त्यस्तै मेलमिलापकर्ता राक्सिराङ ३ का थलबहादुर थापा, भिमफेदी १ की शर्मिला महत, सामुदायिक विद्यालय तर्फ प्रगति मावि र निजी विद्यालय तर्फ बालजागृती इङ्लिस, घरेलु तथा साना महिला उद्यमी तर्फ अनुग्रही सिलाई प्रशिक्षण केन्द्र मनहरी ७ की लक्ष्मी प्रजा, श्रमजीवी महिला काष्ठकला उद्योग हेटौँडा–५ की विष्णुकुमारी राई र पत्रकार तर्फ पत्रकार गणेश दर्पण अधिकारी र भावना रिजाल तथा कृषक समूह तर्फ जनजागरण कृषि तथा पशुपालन कृषक समूह बकैयालाई सम्मान गरिएको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, उपप्रमुख सानुकाजी लुइँटेल, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ लगायतकाले सम्मानपत्र हस्तान्तरण गरेका थिए । समीक्षा कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।