संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणलागि राष्ट्रियताको रक्षा, विकास र समृद्विको नेतृत्व गर्नुपर्ने दलरूको जिम्मेवारी ठुला दलहरू कै हो । ठुला दलहरू आफै र आफूभित्रको अन्तरविरोधको व्यवस्थापन गर्नु त कता हो, अन्तरविरोधबाट निर्माण भएका गुटउपगुट, र गुटउपगुटको व्यवस्थापन गर्न नसक्दा आन्तरिक किचलो, पार्टी विभाजन र निर्वाचनमा घात र अन्तरघातको शिकार भएका छन् । जसको कारण जनता निरास बन्न पुग्दा सहायक उत्पादनको रूपमा स्वतन्त्र भन्नेहरूको राजनीतिक बजार फस्टाएको छ । जनक्रान्तिबाट पराजित पुरातनवादी शक्तिहरू सल्वलाउने र कतिपय ठाउँ जनताबाट अनुमोदित हुने अबस्थाको समेत सृजना भएको छ । यसको मूख्य दोषी ठुला दल र नेताहरू नै रहेको छ । परिणाम संघीय लोकतान्त्रिक गणतन्त्र माथी नै विभिन्न ढंगले प्रहार भईरहेको छ ।
यसको मूलकारण बाहिर खोजेर हल हुँदैन । यसको कारण ठुला दलभित्र नै खोज्नु पर्छ । ठुला दलभित्र देखिएका गुट, उपगुटगत क्रियाकलाप र अन्तरविरोध नै यसको मूलकारण हो । जसको कारण आन्तरिक किचलो, पार्टी विभाजन र घात अन्तरघातको श्रृङ्खलाहरू देखिएका छन् । गुट र उपगुट सैद्वान्तिक रूपमा सुन्दा अत्यन्तै अप्रिय र अलोकप्रिय लाग्ने शब्द हो । तर गुटगत गतिविधिमा संलग्न हुँदा चाहिँ अत्यन्तै आनन्द र रमाईलो अनुभूति भईरहको पाईन्छ । बास्तवमा पार्टी निर्माण र परिचालनमा खर्चनु पर्ने समय गुट परिचालनमा खर्च भएको पाउँछौ । गुट निर्माण र परिचालनमा लगाईने समय पार्टी निर्माणमा खर्चने हो भने ठुला दलहरूलाई कसैले चियाउन पर्दैन । पार्टीभित्र विभिन्न समयमा आएका विषयबस्तुमा मौन बस्नु अवसरवाद हो, सहि पक्षमा मत जाहेर गर्नु असल गुण हो तर स्थाई गुट बनाई निरपेक्ष रूपमा खान र सुत्न समेत विर्सेर गलत विषयको पक्षपोषण गर्नु पार्टी जीवनमा महारोग हो । त्यसैले गुट जिवन्त पार्टीको लागि महा–महारोग हो । जसरी मानिसको जीवनमा क्यान्सर महारोग हो, पार्टी जीवनमा गुट महारोग हो । यो महारोगको अरू रोग जस्तो प्रमाण पनि हुँदैन । यसले पार्टीको आन्तरीक जीवनलाई ध्वस्त बनाउन पनि छोड्दैन । हिजो एउटा कम्युनिष्ट पार्टीमा अन्तरविरोध हल गर्नको लागि आलोचना र आत्मआलोचना मूख्य हतियार थियो । एउटा कम्युनिष्ट पार्टीमा आलोचना र आत्मआलोचना हिजोको समय संघर्षकालमा(व्यवस्था परिवर्तनको समय) आन्तरिक अन्तरविरोधहरू समाधन गर्न अचुक हतियार थियो । तर आज निर्माण (अबस्था परिवर्तन)को चरणमा यो हतियार भुत्ते भएको छ । यसलाई प्रयोग गर्ने र आत्मसाथ गर्ने भन्दा झन् अन्तरविरोध र अविश्वास बढ्ने कारण पो बन्न पुगेको छ । त्यसैले अन्तरविरोधहरू बढ्दै जाँदा गुट मौलाउने र फस्टाउने काम भएको छ । गुट मौलाउने र फस्टाउँदै जाँदा दलहरू कमजोर, घातअन्तरघात, विभाजन हुँदै क्रमसः विघटनसम्म पुग्ने खतरा छ । यो संकेत संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै देश, जनता र समाजलाई बलियो बनाउने भन्नेहरूको लागि पक्कै सुखद् होईन । त्यसैले ठुला दलहरूले आन्तरिक किचलो समाधानको नयाँ तौतरीका र विधि अवलम्बन गर्नुपर्छ ।
व्यक्तिगत स्वार्थ र अभिष्ट पूरा गर्न गुट निर्माण हुने गर्दछ ।बलियो गुटको बलमा पार्टीभित्रको सत्ता हत्याउन केही व्यक्ति सफल होलान् । तर पार्टीलाई एकताबद्व र बलियो बनाउन र आमप्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सकिँदैन । आजको प्रतिस्पर्धा भनेको आमप्रतिस्पर्धा हो । हिजो वर्ग संघर्षको केन्द्र आन्दोलन थियो, आज वर्ग संघर्षको केन्द्र निर्वाचन हो । प्रतिस्पर्धी शक्ति र वर्ग शत्रुलाई पराजित गर्नुपर्ने थलो भनेको निर्वाचन बाट नै हो । राष्ट्रवादी शक्ति, गणतन्त्रवादी शक्ति, परिवर्तनकारी शक्ति, मुलुकमा विकास र समृद्वि चाहने शक्ति बलियो बनाउन निर्वाचन जित्नुपर्छ । निर्वाचन जित्न बलियो पार्टी, स्थापित एजेन्डा र लोकप्रिय नेतृत्वबाट मात्र सम्भव छ । तर गुट र उपगुटले पार्टी बलियो होईन कमजोर, स्थापित एजेण्डा होईन, जनताबाट वस्थापित, व्यक्तिगत र गुटगत स्वार्थ हावि हुने अनि लोकप्रिय नेतृत्व होईन अलोकप्रिय र असक्षम नेतृत्वको कष्टपूर्ण र दुःखद् अबस्थाको रहन्छ ।
आजको एजेण्डा भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको लागि बलियो राष्ट्रियता, बलियो अर्थतन्त्र, बलियो सामाजिक सद्भाव आवश्यक पर्छ । जसको लागि बलियो राष्ट्रिय शक्ति, राजनीतिक स्थिरता र सुशासन आवश्यक पर्छ । यसको लागि बलियो पार्टी, स्थापित एजेण्डा र लोकप्रिय नेतृत्वको वलमा आमप्रतिस्पर्धाबाट निर्वाचनबाट बहुमतसिद्व गर्नुपर्छ । यसको लागि पार्टीभित्र देखिने अन्तरविरोधको न्यूननीकरण र गुटगत क्रियाकलाप अन्त्य गर्न आन्तरिक पार्टी जीवनमा नयाँ व्यवस्था आावश्यक छ । अवलम्बन गरिएका विधि र पद्वतिले काम नदिएपछि पनि अबलम्वन गर्नु रोग निको पार्न म्याद सकिएको औषधी प्रयोग गरिए जस्तै हो । पार्टी काम, आमप्रतिस्पर्धा र संकटमा साझा समजदारी सहित एकजुट हुने, अवसर र जिम्मेवारी प्राप्तिमा उचित मूल्याँकन गरि बाँडफाँडको वैज्ञानिक व्यवस्थापन गर्नु आवश्यक छ । कार्यशैली र सोचमा परिवर्तन गर्दै द्वन्द्व व्यवस्थापन, नेतृत्व र कार्यकर्ता व्यवस्थापन र परिचालनको लागि नवीनतम् सिद्वान्त अबलम्बन गर्नुपर्छ । पार्टी सञ्चालन पद्वतीमा नै आमूल परिवर्तन हुनु आवश्यक छ । जसले नेता कार्यकर्ता हुर्किएका गलत चिन्तन र सोचलाई पनि बदल्न र फेर्न मदत गर्छ । दलहरूप्रति बढ्दै गईरहेको अविश्वास हटाउन भविष्यमा हुनसक्ने राष्ट्र, जनता, लोकतन्त्र, विकास र समृद्धिको लागि हुनसक्ने क्षयीकरणबाट जोगाउन सक्दछ ।
(लेखकः नेकपा एमाले, मकवानपुरका सचिव हुन, प्रस्तुत विचार उनका व्यक्तिगत विचार हुन)
प्रतिक्रिया दिनुहोस्