हेटौंडा । हेटौंडा–१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको आफन्तले गुनासो गरेका छन् ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मृतकका भाइ दीपक र भतिज रोशन सापकोटाले घटनाको अनुसन्धानमा ढिलाई भएको गुनासो गरेका हुन् । उनीहरूले घटना भएको एक साता हुन लाग्दा समेत अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै प्रहरीको कार्यशैलीमाथि आशंका गरेका छन् ।
उनीहरूले प्रहरीले घटना गराउने सवारी र चालक नियन्त्रणमा लिएको जनाए पनि अझै पुष्टि गर्न नसक्दा अनुसन्धानमा चलखेलको आशंका गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरूले प्रमाण नष्ट हुन सक्ने, घटनामा संलग्न व्यक्ति फेरबदल भएको हुन सक्ने, प्रहरी दवाब र प्रभावमा पर्न सक्ने भन्दै निष्पक्ष छानविनका लागि सहयोगको आग्रह गरेका छन् ।
यता, मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले घटनाको अनुसन्धान भईरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पीडित, संचारकर्मी, नागरिक समाज र सरोकारवालाहरूसंगको छलफलमा पीडित पक्ष र सरोकारवालाहरूले राखेको चासोलाई सकारात्मक लिएको भन्दै निष्पक्ष अनुसन्धान हुने बताए । एउटा स्कार्पीयो र त्यसका चालक नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरिएको बताउँदै विभिन्न व्यक्तिसंग बयान लिने, सिसीटिभि फुटेज संकलन र विश्लेषण गर्ने, कल डिटेल झिकाउने, पोलिग्राफ परीक्षणका लागि प्रक्रिया अघि बढाउने जस्ता अनुसन्धानका प्रक्रिया भईरहेकोले अनुसन्धानमा आशंका नगर्न उनले अनुरोध गरे । अनुसन्धानको दायरालाई फराकिलो बनाई सबै ढंगबाट विश्लेषण हुने भएकाले घटनामा संलग्न दोषिमाथि कारवाही हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–१ चौकीटोल तिरतिरेधारा नजिक फागुन २० गते हेटौंडा आउदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौडा–६ का कृष्ण प्रसाद सापकोटाको मृत्यु भएको थियो । घटना लगतै ठक्कर दिने सवारी फरार भएको थियो । पछि प्रहरीले सिसिटिभि फुटेजका आधारमा सवारी नियन्त्रणमा लिएको थियो । प्रष्ट खबरबाट साभार












प्रतिक्रिया दिनुहोस्