ललितपुर । कान्तिलोकपथमा गएको पहिरोले पाइप बगाएपछि भट्टेडाँडामा खानेपानीको हाहाकार भएको छ ।

सल्भ नेपाल र स्थानीयको जनसहभागितामा २०७५ सालमा सम्पन्न खानेपानी आयोजनाको पाइप कान्तिलोकपथमा गएको पहिरोले बगाएपछि त्यहाँ खानेपानीको हाहाकार भएको हो । पहिरोले पाइप बगाएपछि स्थानीयले छपेली धाराडोलबाट ल्याएको खानेपानी उपभोग गरिरहेको स्थानीयवासी सानु महर्जनले जानकारी दिए ।

‘वर्षामा ठिकै पानी आउँछ । तर हिउँदमा धेरै समस्या छ,’ उनले भने । बागमती गाँउपालिकाको सदरमुकामसमेत रहेको भट्टेडाँडा र छपेली गाउँसम्मका बासिन्दा तिरतिरे धारोको भरमा बाँच्नु परेको उनको भनाइ छ ।

गत निर्वाचनअघि भट्टेडाँडामा जलुकेबाट लिफ्ट प्रविधिबाट खानेपानी वितरण गरिए पनि अहिले बन्द छ । निरन्तर लिफ्टिङ प्रविधि बिग्रने र विद्युतको महसुल नतिर्दा समस्या भएको हो ।

पछिल्लो समय आयोजनाको पाइप चोरी गर्ने बढेको स्थानीयहरूको गुनासो छ । बालुवा चाल्न चोरीका खानेपानीको पाइप प्रयोग भइरहेको स्थानीयको छ । उनले भने, ‘खानेपानीको पाइप गाउँले नै चोरेर लगेका छन् । अर्कोतर्फ खानेपानीको हाहाकार छ ।’

२०७५ सालमा साल्भ नेपालले ४७ लाखको लागतमा स्थानीय जनसहभागिता
(जनश्रमदान) मा यो खानेपानी आयोजना पूरा गरेर हस्तान्तरण गरेको थियो । खानेपानी आयोजनाका अध्यक्ष रामशरण चौरेलले कान्ति लोकपथको पहिरोका कारण डेढ महिना मात्रै चालू गरिएको बताए । ६३ एमएमको पाइप राखेर बनाइएको यो खानेपानी आयोजना पूरा भएपछि स्थानीयले राम्रोसँग पानी उपभोग गर्न पाएको उनको भनाइ छ ।
साभारः ललितपुर खबर