हेटौंडा ।हेटौडा–६ मा रहेको हेटौडा स्वास्थ्य चौकीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । स्वास्थ्य चौकीमा विहिवार आयोजित घोषणा सभामा हेटौडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन ।

घोषणा सभालाई सम्वोधन गर्दै मेयर महतले नगरपालिकाले भौतिक क्षेत्रको मात्रै विकास नगरी नगरबासीहरुको स्वास्थ्य क्षेत्रमा समेत काम गरेको बताए । मेयर महतले स्वास्थ्य चौकीले वडाबासीहरुको स्वास्थ्य प्रति गरेको कामको प्रशंसा समेत गरे । नगरपालिकाले सदैव नगरबासीहरुको हितमा काम गरेको बताउदै नगर प्रमुख महतले हेटौडा उपमहानगरपालिकालाई देशकै उत्कृष्ठ नगर बनाउने दावी गरे ।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख टीएन ढुङगेलले वडाबासीहरुको सहयोग र साथ पाएकाले स्वास्थ्य चौकीलाई नगरकै उत्कृष्ठ स्वास्थ्य चौकी बनाउन सफल भएको बताए । प्रमुख ढुङगेलले गत आवमा १ सय ६ जना सुत्केरीलाई सेवा दिएको बताउदै यस आवमा हाल सम्म ६२ जना सुत्केरीलाई सेवा प्रदान गरेको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य चौकीले गरेको विभिन्न क्रियाकलापहरुको प्रचारप्रसार गरि सहयोग गर्ने सञ्चारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी स्वास्थ्य चौकी जाने बाटोको लागि जग्गा दान गर्ने भगवती ढकाल, मनिस ढकाल र दिनेश ढकाल, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा हेटौडा–७ का वडा अध्यक्ष राजन थापा, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, बरिष्ठ पत्रकार प्रताप बिष्ट, सहयोगी मन नेपालका केन्द्रीय अध्यक्ष केदार प्रसाद चौलागाई, बंशगोपाल माविका प्रअ. रमेश प्रसाद लामिछाने, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, नेपाल कम्युनिष्ट पार्टी, एकिकृत समाजवादीका जिल्ला सदस्य देवराज गौतम,नेपाल कम्युनिष्ट पार्टी माओवादीका ६ नं. वडा अध्यक्ष दीपक सापकोटा,महिला स्वास्थ्य स्वयंसविका कल्पना पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

जिल्लामा थाहानगरपालिकाको वडा नं. ६ पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको थियो भने हेटौडा उपमहानगरपालिकामा ६ नं. वडा पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको हो ।

भीमसेन पौडेल
थप जानकारी