हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । भारत छोटीपट्टी गाउँ ८ बस्ने ३० बर्षीय मनोज चौधरी र जुडापकडी बस्ने १९ बर्षीय संजिब कुमार, १६ बर्षीय र १४ बर्षीय बालक रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत काठमाडौं तर्फबाट बिरगंजतर्फ जादै गरेको पिबी १० सि ००१०९ नम्बरको ईन्डियन गाडीलाई चेकजाँच गर्दा डाईजेपाम ७ एम्पुल, फेनारगन १७ एम्पुल, नुर्फिन–४ एम्पुल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

गाडीको सिटको कभरको भित्री भागमा लुकाएर राखेको अवस्थामा उक्त लागुऔषध बरामद भएपछि गाडीमा सवार चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध सहित चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान भइरहेको बताईएको छ ।