हेटौंडा । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बीमा गरेका नागरिकलाई दोश्रो दर्जाको नागरिकजस्तो व्यवहार गर्न नपाइने बताएका छन । स्वास्थ्य बीमा बोर्ड ववरमहल काठमाडौँको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा बुधवारदेखि सुरु भएको प्रदेश स्तरीय बार्षिक समिक्षा, दर्ता अधिकारको पुनर्ताजगी र दर्ता सहयोगीको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै बीमा र पैसा तिरेर उपचार गराउने सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।

बीमा बाहेक तत्काल स्वास्थ्य सेवा पाइने र बीमा गरेकाले औषधि तथा स्वास्थ्य सेवा पाउन एक हप्ता वा महिनौं कुर्नुपर्ने बाध्यता हटाउन निर्देशन दिर्दै मन्त्री जोशीले विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए । “पैसा दिए तत्काल, बीमा गरेकालाई एक महिना सम्म कुराउने प्रवृत्ति हटाउनुपर्छ, राज्यको नियम पालना गरेर बीमा गर्ने नागरिकलाई पहिलो प्राथमिकता दिएर उपचार गर्नुपर्छ,”–मन्त्री जोशीले भने ।

संविधानको पानामा स्वास्थ्य नैसर्गिक अधिकारको रुपमा सुरक्षित भएपनि आम नागरिकले अझैं स्वास्थ्य सेवा पाउन नसकेको उनको भनाई छ । बीमाको बिषयमा आम नागरिकबाट धेरै गुनासो आएको बताउँदै स्वास्थ्य मन्त्री जोशीले बीमा गरेकाले बीमाबाट सबै औषधि नपाउने र बीमाबाट सेवा लिन धेरै समय कुर्नपर्ने समस्या हटाउन निर्देशन दिए ।

“बीमाबाट प्रदान गरिने औषधि पनि गुणस्तरीय नभएको जनगुनासो धेरै छ, औषधिको गुणस्तरीयताको बिषयमा पनि प्रश्न चिन्ह उठेको छ,”–मन्त्री जोशीले भने । स्वास्थ्य बीमाप्रति आम नागरिकको विश्वास जित्नेगरी काम गर्न उनले आग्रह गरे ।

स्वास्थ्य बीमा मार्फत ११३२ थरिको औषधि मात्रै निःशुल्क पाउने गरेको स्मरण गराउँदै उहाँले एक लाख सम्मको बीमा गरेपछि आम नागरिकले सबै औषधि निःशुल्क पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए । बीमालाई बास्तमै राम्रो बनाउने भए तल्लो तहको स्वास्थ्य चौकीसम्म बीमा कार्यक्रम पु¥याउन उनले सुझाव दिए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीना कुमारी लामा, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी, स्वास्थ्य बिमा बोर्डका सदस्य मुक्तिराम श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारी, हेटौँडा अस्पतालका मेसु डा.रामचन्द्र सापकोटा, जनस्वास्थ्य अधिकृत सुपमा बराल लगायतकाले बोलेका थिए ।