हेटौंडा । पशुपतिनाथ माविमा अध्ययनरत दुईजना विद्यार्थीलाई अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको छ । सरस्वती पूजाको अवसरमा एक छात्र र एक छात्रालाई सम्मानीत गरिएको हो ।

कक्षा ९ की छात्रा रोशनी प्रजा र कक्षा ९ का छात्र कष्यप ढकाललाई विद्यालयका अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम र प्रधानाध्यापक भानुभक्त आचार्यले विद्यार्थीद्वयलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । हरेक वर्ष श्रीपञ्चमीका दिन विद्यालयले यस्तै सम्मान गर्दै आएको छ ।

विद्यालयमा अध्यापन गर्ने शिक्षक चेतप्रसाद पौडेलले आफ्नो माता जसोदादेबी र पिता लालप्रसादको स्मृतिमा स्थापना गरेको ‘अनुशाशित विद्यार्थी सम्मान’ प्रदान गरिएको हो । शिक्षक पौडेलले सेवाननिबृत्त जीवनमा आफूले अध्यापन गरेको विद्यालयलाई सहयोग गर्ने क्रममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी पुरस्कार प्रदान गर्ने ब्यवस्था गरेका हुन् ।

५० हजार रुपैयाँको वार्षिक ब्याज आम्दानीबाट दुईजना छात्रछात्रालाई नगद तथा प्रशंशापत्र प्रदान गरिएको विद्यालयका शिक्षक ईश्वर रिजालले जानकारी दिए । बिगत ७ वर्षदेखि पशुपतिनाथ माविले बसन्तपञ्चमीको अवसरमा विद्यार्थी सम्मान गर्दै आएको हो । विद्यार्थीहरुमा अनुशासित बन्न प्रेरित गर्ने उद्देश्य राखेर पुरस्कारका लागि हातेमालो बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोष स्थापना गरिएको सेवानिबृत्त शिक्षक पौडेलले जानकारी दिएका छन् ।