हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा बुधबार अपह्रान्न भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा थप एक जना पुरुषको मृत्यु भएको हो । यससंगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

यसअघि ३ महिने नाबालिका र एक पुरुषको उपचारको हेटौंडा अस्पतालमा ल्याईएकोमा डाक्टर मृत घोषणा गरेको थियो । मृत्यु भएका तीन जना मध्ये दुई जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने बर्ष २६ को अर्जुन नेपाली र उनको ३ महिने छोरी अर्जिताको पहिचान खुलेको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार हेटौडा अस्पतालमा उपचारको लागि ल्याईएको नेपाली बाबुछारीको साँझ ७ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको हो ।

उनीहरुको पहिचान मृतकका आफन्तले गरेको प्रवक्ता भण्डारीले बताए । मृतकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । त्यस्तै घाइते दुई महिलाको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौंडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको ५ जना सवार कार आफै अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।