
हेटौँडा । यो वर्षको साउन पहिलो सातासम्म अझै १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार साउन ६ गते आइतवारसम्म प्रदेशका १३ जिल्लामा ८५ दशमलव ५० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो ।
जेठको अन्तिमबाट नेपालमा मनसुन भित्रिएको र नेपालभर फैलन करिव दुइहप्ता लागेकाले रोपाइँ पनि ढिलोगरि सुरु भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बाली विकास अधिकृत (सातौँ) सुदीप भुजेलले जानकारी दिए । धेरैजसो ठाउँमा आकाशे पानीको भर पर्नुपर्दा समयमै रोपाइँ सम्पन्न हुन नसकेको बताउँदै उनले छिटपुट ठाउँमा अलिअलि धान रोप्ने काम अझै भइरहेको बताए । मकै र चैते धान भित्र्याउन ढिला हुँदा पनि रोपाइँ ढिलो भएको उनको तर्क छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशको १३ जिल्लामा कूल एक लाख १२ हजार २७३ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा साउन पहिलो सातासम्म जम्मा ९५ हजार ९८८ हेक्टर क्षेत्रफल अर्थात ८५.५० प्रतिशत रोपाइँ भएको छ ।
मन्त्रालयका अनुसार प्रदेशको दोलखामा पूर्णरुपमा रोपाइँ सम्पन्न भइसकेको छ भने धादिङ जिल्लामा सबैभन्दा कम ६८ प्रतिशत मात्रै रोपाइँ भएको तथ्याङ्क छ । दोलखामा धान रोपाइँ हुने कुल क्षेत्रफल २ हजार ८१४ हेक्टरमा पुरै रोपाइँ सकिएको छ भने धादिङमा ११ हजार ३०० हेक्टर जमिनमध्ये ७ हजार ७१५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।
मन्त्रालयका बाली विकास अधिकृत सुदीप भुजेलका अनुसार काठमाडौँ जिल्लामा ५ हजार ९२६ हेक्टर जमिनमध्ये ९५ प्रतिशत अर्थात ५ हजार ६३० हेक्टर क्षेत्रफलमा, भक्तपुरमा ३ हजार ७१९ हेक्टरमा ९२ प्रतिशत अर्थात ३ हजार ७२१ हेक्टर क्षेत्रफल र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा ९२ प्रतिशत अर्थात जम्मा २२ हजार ३४१ हेक्टरमा रोपाइँ सकिएको छ ।
त्यस्तै मकवानपुर जिल्लामा ९ हजार ४५० हेक्टर जमिनमध्ये ७७ प्रतिशत अर्थात ७ हजार २७७ हेक्टर क्षेत्रफलमा, नुवाकोटमा ११ हजार ६१२ हेक्टर जमिनमध्ये ८० प्रतिशत अर्थात ९ हजार २५१ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ । त्यस्तै प्रदेशको रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा यसवर्ष ८२ प्रतिशत अर्थात ८९७ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ ।
सिन्धुलीमा ११ हजार १८८ हेक्टर जमिनमध्ये ८९ प्रतिशत अर्थात ९ हजार ९५७ हेक्टर जमिनमा, रामेछापमा ७ हजार ८५९ हेक्टर जमिनमध्ये ९२ प्रतिशत अर्थात ७ हजार २३० हेक्टर जमिनमा, काभ्रेपलाञ्चोकमा ८ हजार ७८२ हेक्टर जमिनमध्ये ८४ प्रतिशत अर्थात ८ हजार ५३३ हेक्टर जमिनमा र सिन्धुपाल्चोकमा ८ हजार ७८२ हेक्टर जमिनमध्ये ८० प्रतिशत अर्थात ७ हजार ९ हेक्टर जमिनमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बाली विकास अधिकृत भुजेलले जानकारी दिनुभयो । बागमती प्रदेशमा ५ लाख २८ हजार ९३८.८ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्