हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ चिरुवा खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रूपमा गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो ।

पुलको उद्घाटन गर्दै प्रदेश सांसद पुलामीले अब झोलुङ्गे पुलबाट आवतजावत गर्न आग्रह गर्दै विकास निर्माणका कामले गाउँको मुहार नै फेरिएको बताए । पालिका अध्यक्ष घलानले पुलको संरक्षण र जोगाउने कर्तव्य सबैको भएको बताउँदै युवालाई श्रमसँग जोडिन आग्रह गरे । उनले यहाँ स्थानीय स्तरमा कृषिको राम्रो सम्भावना भएकाले पुल बनेपछि उत्पादन ल्याउन लैजान थप सहजता हुने विश्वास व्यक्त गरे ।

बागमती गाउँपालिका ३ नम्बर वडा अध्यक्ष एवम् प्रवक्ता कमान सिं पाख्रिनले झोलुङ्गे पुल बनेसँगै यहाँका स्थानीय खुसी भएको बताए । बर्खामा सधैँ खोलाको त्रासमा ओहोरदोहोर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै उनले पुलले गढन र राईगाउँको दुरी घटेको बताए । पुल सञ्चालनसँगै बागमती–२ राईगाउँदेखि बकैया गाउँपालिका–२ दोभान सम्मका करिब पाँच हजार लाभान्वित हुने उनको भनाइ छ ।

सङ्घीय सरकारको ७७ लाख एक हजार ९६७ रुपैयाँ, पालिकाको ११ लाख ७७ हजार ९४४ र उपभोक्ता समितिको एक लाख ८१ हजार २२२ रुपियाँ सहित कुल ९० लाख ६१ हजार ११३ रुपियाँ लागतमा झोलुङ्गे पुल निर्माण भएको हो । झोलुङ्गे पुलको लम्बाई एक सय २० मिटर रहेको छ। २०८० भदौ ४ गते पालिकासँग सम्झौता गरेर सुरु गरिएको निर्माण कार्य असार १० गते सम्पन्न भई साउनमा उद्घाटन गरिएको निर्माण समिति अध्यक्ष रवि सिंतानले जानकारी दिए । गोरखापत्रबाट साभार