हेटौँडा । “पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ ।” भन्ने कुरालाई मकवानपुर मनहरी गाउँपालिका वडा नं १ का वडाअध्यक्ष शिवप्रसाद खनालले प्रमाणित गरिदिएका छन । २.४१ जीपीए ल्याएर कक्षा १२ को परीक्षा उत्तीर्ण भएसँगै इच्छाशक्ति हुँदा उमेरले कुनै प्रभाव नपर्ने कुरालाई उनले प्रमाणित गरिदिनुभएको हो ।

५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिएका वडाअध्यक्ष खनाल उत्तीर्ण भएका हुन । पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणलाई स्थापित गर्दै उनले जीवनको यो उमेरमा पढाइलाई निरन्तरता दिएका थिए । आफ्नो नातिनातिनीको उमेरका बालबालिकासँगै पठनपाठन गर्दै उहाँ कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । यसभन्दा अघिल्लो वर्ष कक्षा ११ को परीक्षामा २.५३ जीपीए प्राप्त गरी उनी उत्तीर्ण भएका थिए ।

जनताको सेवक बन्दै अधुरो शिक्षालाई पूरा गर्न सफल भएका खनाल समाजको उदाहरणीय पात्र बनेका छन । निर्मल बहुमुखी क्याम्पस बस्तीपुर परीक्षा केन्द्रबाट परीक्षामा सहभागि उनी राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको अति नै महत्त्वपूर्ण भूमिका हुने भएकाले पढाइलाई निरन्तरता दिएको बताउँछन । पढाइ र ज्ञान आर्जनका लागि कुनै उमेर नहुने मान्यता राखेका खनाल शिक्षा र सामाजिक क्षेत्रमा जीवन रहेसम्म सक्रिय हुने बताउँछन् ।