हेटौँडा । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले विपद् जोखिम न्यूनिकरण गर्न पूर्व तयारी आवश्यक रहेको बताएका छन । विपद् जोखिम न्यूनिकरणका लागि स्थानीयकरण र सुशासन विषयमा सोमबार हेटौँडामा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।

तीन तहको सहरका बिचमा सहकार्य, समन्वय गर्दै विपद् न्यूनिकरणमा लाग्नुपर्ने उनको धारणा रहेको थियो । आगामी दिनमा हुनसक्ने विपद् न्यूनिकरणका लागि छलफल र पूर्व तयारी आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले विपद् सँगै अवसर र चुनौति सिर्जना हुने गरेको बताए । उनले विगत सम्झदै भुकम्पका कारण पुर्नसंरचना हुँदा नयाँ बिद्यालय भवन बनेको र कोरोना पश्चात अस्पताल थपिएको बताए । विपद् न्यूनिकरणमा स्थानीयतहमा सहकार्य र समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकार तिर्थराज चिलवालले पनि जिल्लामा बाढी, पहिरो, आगलागी जस्ता विपद् न्यूनिकरण गर्न आवश्यक समन्वय गरिरहेको बताए ।

राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल, विपद् पूर्व तयारी सञ्जाल नेपाल, ग्रामिण समाज कल्याण संघ नेपालकाृे आयोजना एवम् गैसस महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको व्यवस्थापनमा विपद् जोखिम न्यूनिकरणका लागि स्थानीयकरण र विपद् सुशासन अभिबृद्धि बिषयमा बागमती प्रदेशस्तरीय छलफल भएको थियो ।

गैर सरकारी संस्था महासंघ मकवानपुर शाखा अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख सुरेश खनाल, जितराम लामा, गैससका पूर्व कोषाध्यक्ष सुर्य बहादुर थापा लगायतकाले बोलेका थिए । कार्यक्रम गैर सरकारी संस्था महासंघ मकवानपुर शाखाका सचिव सन्तोष पौडेलले संचालन गरेका थिए ।