हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको माण्डु हाइड्रोपावर लिमिटेडको उत्पादन बन्द भएको छ। असोजको दोस्रो साता अविरल वर्षासँगै आएको बाढी पहिरोले माण्डु हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित बागमती साना जलविद्युत् आयोजनामा क्षति पुर्‍याएसँगै गत छ दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो ।

भीमफेदी गाउँपालिका-८ स्थित आयोजनामा बाढी पहिरोले पावरहाउस, हेडवर्क्स, ड्यामलगायतका संरचनामा क्षति पुर्‍यएको आयोजनाका प्लाण्ट इञ्चार्ज जानुप पोखरेलले जानकारी दिए। उनले मौसम विभागसँगै कुलेखानी प्रथम जलविद्युत केन्द्रले उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै असोज ११ गतेबाट नै विद्युत् उत्पादन बन्द गरिएको बताए ।

“बागमती नदीको सतह अधिक बढेपछि सतर्कता अपनाउन थालिएको थियो”, उनले भने, “बागमती नदीमा आएको बाढीले मात्र आयोजनामा यत्रो क्षति पुग्दैनथ्यो, कुलेखानी जलविद्युत् केन्द्रले पानी छाड्न थालेपछि बढी क्षति हुन गएको छ ।” “खोकना जलमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुग्न थालेपछि विद्युत् उत्पादन छाडेका थियौँ”, उनले भने ।

उनले बाढी पहिराले आयोजनामा पुर्‍यएको क्षतिको मूल्याङ्कन नभइसकेको र बिमा कम्पनी आएपछि मात्र क्षतिको विवरण यकिन हुने बताउँदै कम्पनीको हालै सम्पन्न साधारण सभामा छिट्टै आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको बताए । उता बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले माण्डु हाइड्रोपावर लिमिटेडको बागमती साना जल विद्युत् आयोजनामा पानीको सतह बढी बाढी पहिरोले क्षति पुर्‍यएको जानकारी आएको जनाएको छ ।

प्रहरीका अनुसार आयोजनाको हेडवर्क्सतर्फ फ्लड वाल, इनटेक वेयर, ग्राभल ट्रयाप, खोल्सी क्रसिङ, अप्रोच क्यानल, डिस्याण्डर, हेडपोण्ड, वक्स कलभर्टका सिभिल संरचना साथै सम्पूर्ण गेट तथा होइस्ट, ट्रयास र्‍याक, ट्रयास र्‍याक सफा गर्ने मेशिनलगायत टनेलभित्र लेदो, ढुङ्गा, बालुवा, गिट्टीसहित पसेको र पावर हाउसतर्फ स्वीच याड पावर हाउस तथा पावर हाउसका सम्पूर्ण उपकरणहरु पूर्णरुपमा क्षति भएको छ ।

यस्तै, पेनेस्टक पाइप, वाइफर्केशन, कर्मचारी आवास, स्टोर भवन, पानी तान्ने पम्पहरु, ६६ के.भी.प्रसारण लाइनको १ नं.टावर, तार, जेनेरेटर, ११ के.भी.को प्रसारण लाइन, ट्रान्सफर्मर, तारका साथै एक थान मोटरसाइकल, आयोजनामा जाने पहुँच मार्गलगायत पावर हाउसमा भएका सम्पूर्ण उपकरण पूर्णरुपमा क्षति भई विद्युत् उत्पादन अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

२०७२ चैतबाट विद्युत् उत्पादन सुरु गरेको यस आयोजनाको विद्युत् उत्पादन क्षमता २२ मेगावाट छ । गाेरखापत्रबाट