हेटौँडा । लोप हुँदै गएको परम्परागत रोटेपिङको जगेर्ना थालिएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७, स्थित मनकामना मन्दिर परिसरमा दसैँको अवसर पारेर काठको रोटेपिङ तयार गरि सञ्चालन गरिएको हो ।

मनकामना सनातन धर्म संरक्षण संस्थाले दश दिन लगाएर बनाएको काठको रोटेपिङको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पूजापाठ गरेर शुभारम्भ गरेका हुन । उनले रोटेपिङको शुभारम्भ गर्दै समाज रूपान्तरणमा असल व्यक्तिहरूले नेतृत्व गर्नुपर्ने बताउँदै लोप हुँदै गएको परम्परागत रोटेपिङको निर्माणले संस्कृति जगेर्ना पर्न पनि थप टेवा पुगेको विश्वास व्यक्त गरे ।

पालिका उपाध्यक्ष सीता पुलामी मगरले लोप हुँदै गएको रोटेपिङ स्थापना गरेर संस्थाले नयाँ पुस्तालाई त्यसबारे जानकारी गराएको उल्लेख गरिन । आम जनमानसमा धार्मिकतासँगै पर्यटनको विकासको सम्भावनालाई उजागर गरी लैजाने संस्थाले नीति लिएको संस्थाका अध्यक्ष नारायण सुवेदीले बताए ।

हिन्दु धर्म ग्रन्थमा दसैँका बेलामा पिङ खेल्दा धर्ती छोड्नुपर्ने भन्ने मान्यताले पनि यस्ता पिङको संरक्षणमा लागिपरेको गाउँपालिकाले जनाएको छ । बस्ती पातलिँदै जानु र अर्कोतर्फ इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दसैँको आगमन झल्किने गरी गाउँ तथा टोलमा हरेक वर्ष खेलिने यस्ता पिङ लोप हुन नदिनु पनि संस्कृतिको जगेर्ना हुने संस्कृतिविद्को तर्क छ ।

औपचारिक कार्यक्रमपछि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ, निवर्तमान गाउँपालिका अध्यक्ष एकराज उप्रेती, १ नं वडाध्यक्ष शिवप्रसाद खनाल, ४ नं वडाध्यक्ष प्रकाश थापा, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका पदाधिकारीहरू, संस्थाका आजीवन सदस्यहरू, पूर्व पदाधिकारीहरू लगायतले रोटेपिङ खेलेर दसैँको मज्जा लिएका थिए ।