हेटौँडा । मकवानपुर प्रहरीले दुई जना उद्योगीसहित तीन जनाको ज्यान मार्ने कार्यमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । छुट्टाछुट्टै घटनाका ज्यान मार्ने उद्योगमा संलग्न भई फरार रहेका पाँच जना प्रतिवादीमध्ये चार जना पक्राउ र एक जना अझै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुई जना उद्योगीको ज्यान मार्ने उद्योग गरेको मुद्दामा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य हेटौँडा उपमहानगरपालिका १० का सानु लामा भन्ने सानुकुमार लामासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ ९ गते हेटौँडा उपमहानगरपालिका ९ स्थित नेपाल पास्ता फुड प्रा.लि.का सञ्चालक बाबुकृष्ण प्रसाई र चित्र प्रसाईलाई कुटपिट गरी मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षसमेत रहेका ४८ वर्षीय लामासहित हेटौँडा ८ का तोईसाङ लामा बल फरार थिए ।
प्रहरीका अनुसार फरार रहेका सानुकुमार र तोईसाङलाई हेटौँडा ४ बाट पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ज्यान मार्ने उद्योग कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यस्तै प्रहरीले ज्यान मार्ने उद्योग गरेको अभियोगमा हेटौँडा वडा नं. ११ का वर्ष २९ का विशाल तामाङ र सोही स्थानका वर्ष १८ का सनिस घिमिरेलाई पक्राउ गरेको छ ।
यही कात्तिक ४ गते ११ः३५ बजेको समयमा हेटौँडा १ जरुवाटोल घर भई हाल वडा नं. १० टिसिएन रोडस्थित आफ्नै डेराकोठामा बसिरहेको अवस्थामा वर्ष २२ का रोनक खड्केलाई अपरिचित तीन जनाले मोटरसाइकलमा आई अश्लील शब्दहरु प्रयोग गरी ज्यानै मार्ने उद्देश्यले धारिलो हतियार (खुकुरी) समेतले टाउको, अनुहार, गर्दन तथा शरीरका विभिन्न भागमा पटक पटक प्रहार गरी घाइते बनाई फरार भएका थिए ।
फरार भएकाहरुको पहिचान एवम् खोजतलास गर्ने क्रममा तामाङ र घिमिरे पक्राउ गरी ज्यान मार्ने उद्याेगसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद अनुमति लिई हिरासतमा राखे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो घटनामा संलग्न अन्य एक जना फरार व्यक्तिको खोजतलास भइरहेको छ । गाेरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्