हेटौँडा । उत्तरी मकवानपुरको दामन, टिस्टुङमा लोपोन्मुख सतुवाको संरक्षण गरिएको छ । संघीय सरकारको वनस्पति विभाग अन्र्तगत रहेको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको पर्वतीय वनस्पति उद्यान, दामन र टिस्टुङमा सतुवाको संरक्षण र संवर्द्धन गरिएको हो ।

बहुवर्षीय बिरुवा सतुवा औषधीको रुपमा प्रयोग हुने गरेको छ । नेपालमा वैध भन्दा पनि अवैध तवरले यसको बढी सङ्कलन हुने गरेकोले प्राकृतिक अवस्थाबाट यो बिरुवा लोप हुने अवस्थामा पुगेको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका कार्यालय प्रमुख रघुराम पराजुलीले बताए ।

यो प्रजाति नेपाल बाहेक भूटान, चीन, लाओस, थाइल्याण्ड, भियतनाम लगायतका देशहरुमा पनि पाइन्छ । यो प्रजाति नेपालका १८ सयदेखि ३५ सय मिटर सम्मको उचाइमा पाइने विभिन्न अध्ययनले देखाएको छ । यो एक महत्वपूर्ण परम्परागत औषधि पनि हो । कीरा मार्ने औषधीको रुपमा, सर्पले टोकेकोमा, घाउ खटिरा निको पार्न, ज्वरो आउँदा, पखाला लाग्दा र पेटसम्बन्धी विभिन्न रोगहरूमा सतुवाको प्रयोग गर्ने गरिएको बरिष्ठ वैज्ञानिक पराजुलीको भनाई छ ।

बहुमूल्य वनस्पति सतुवाको वैज्ञानिक नाम पेरिस पोलिफाइला हो । यसको जरा गानो महँगोमा बिक्री हुन्छ । सतुवाको औषधिका रूपमा प्रयोग हुने भाग जरा गानो हो । यसको जरा गानो अदुवाजस्तै तर हाँगाबिँगा नभएको हुन्छ । झारवर्गमा पर्ने सतुवा ठूला रूख कम भएको ओसिलो वनमा पाइन्छ ।

उद्यानमा २०५६ सालदेखि दैनिक ज्यालादारीमा कार्यरत अमृत अधिकारीले सुरुवाती समयमा सतुवा न्यून सङ्ख्यामा रहेको र अहिले उद्यान नर्सरीमा संरक्षण थालिएपछि एकहजारको हाराहारीमा बिरुवा पुगेको जानकारी दिए । उद्यान वरपरका सामुदायिक वन समूहमा पनि सतुवाको संरक्षण गरिएको छ । दुलर्भ र बहुउपयोगी वनस्पति भएकाले पहिले चोरी हुनेगरेपछि पछिल्लो समय सामुदायिक वन समूहले पनि त्यसको संरक्षण र निगरानी गर्दै आएको उहाँले बताए ।

पर्वतीय वनस्पति उद्यान, दामन र टिस्टुङमा सतुवाको नर्सरी गरिएको छ । प्राकृतिक अवस्थाबाट जथाभावी सङ्कलन हुँदै जाँदा सतुवा मासिन सक्ने भएको हुँदा दुवै उद्यानहरूमा सतुवाको वंशाणुस्रोत एवम् नर्सरी व्यवस्थापन गरिएको हो । विगत एकदशकदेखि सतुवाको नर्सरीप्रति विशेष ध्यान दिर्दे आएको छ । नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त ३३ जडिबुटीको सूचीमा सतुवा रहेको छ ।

दुइहजार तीनसय तीस मिटर उचाइमा रहेको दामनमा लालीगुँरास र ग्रोव्रे सल्लाको वन रहेको छ । यहाँ मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने उपयोगी वनस्पतिहरू चिराइतो, सौठसल्ला, मजिठो, ठूलो ओखति, पाषणवेद, चुत्रो, जमाने मान्द्रो, ओखर, काफल, लेख पांग्रो, सुगन्धवाल, टिमुर, लालीगुँरास, बोझो, हिये सल्ला, झूले सल्ला, तालीस पत्र, लोक्ता तथा विभिन्न प्रजातिका सुनाखरी लगायतका २८० प्रजातिका वनस्पतिहरुको संरक्षण गरिर्दै आएको पर्वतीय वनस्पति उद्यान दामनको भनाई छ ।

अनिल पराजुली
थप जानकारी