काठमाडौं । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०८१ (आठौं संशोधन) भएको छ । नेपाल धितोपत्र बोर्डले हालै मात्र उक्त निर्देशिका संशोधन गरेको हो ।
संशोधित निर्देशिका अनुसार अब संयुक्त लगानीकर्ताको कम्पनीले निष्काशित साधारण शेयर (आईपीओ) मा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्ने भएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।
निर्देशिकाको दफा ११ को झ मा दरखास्त दिने शेयर सङ्ख्या र रकम सम्बन्धी व्यवस्थामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने शेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गर्नु पर्ने व्यवस्था गरिएको हो ।
तथापि, सोही दफाको उपदफा (२) मा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्काशनको लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरणपत्रमा उल्लेख भए बमोजिम हुने उल्लेख गरिएको छ ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रति शेयर अङ्कित मूल्यको शत प्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नु पर्ने व्यवस्था समेत संशोधित निर्देशिकामा गरिएको छ ।
निर्देशिकाको दफा ११ को उपदफा (३) मा भनिएको छ, ‘संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रति शेयर अङ्कित मूल्यको शत प्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नु पर्नेछ ।’
प्रतिक्रिया दिनुहोस्